काठमाडौं । प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा तेस्रो दिन पनि अति रुद्र विश्वकल्याण विराट महायज्ञ जारी छ । नेपालमै पहिलोपटक १ हजार १ सय ११ जना सिद्ध बटुक पण्डितहरुबाट सञ्चालित महायज्ञ अन्तर्गत भावातीत ध्यान र योग शिविर, वैदिक र आधुनिक विज्ञान महासम्मेलन तथा कृषि अर्ग्यानिक मेला पनि जारी छ ।

महर्षि महेशले प्रवर्धन गर्नुभएका विभिन्न अवधारणामध्ये अर्ग्यानिक कृषिको विकास पनि एक हो । त्यसैले महायज्ञस्थलमा नेपालभित्र अग्र्यानिक रुपमा उत्पादन भएका कृषिजन्य उपजहरुको प्रदर्शनी तथा बिक्री स्टलहरु राखिएको छ । कृषि मेलाकी संयोजक शान्ता बाँस्कोटाका अनुसार सो मेलामा ५० वटा अर्ग्यानिक कृषि स्टलहरु रहेका छन् । जसमा नेपाली किसानहरुले उत्पादन गरेका चिया, कफी, चामल, मकै, मह, खाद्य सामाग्री तथा आयुर्वेदिक औषधीहरुको स्टलहरु समावेश छन् ।

धार्मिक अनुष्ठानसँगै आयोजित कृषि मेलाले सहभागिहरुको ध्यान खिचेको छ । ‘महायज्ञमा आउनुहुने सबैजसो भक्तजनले कृषि मेलाको अवलोकन गर्नुभएको छ । नेपाली कृषकहरुले आफ्नो उत्पादनको प्रचार प्रसार गर्नुभएको छ’, बाँस्कोटाले भन्नुभयो । नियमित रुपमा आयोजना हुँदै आएको अर्ग्यानिक कृषि मेलाको यो आठौं संस्करण हो । मेलाको उद्देश्य अग्र्यानिक कृषि र उत्पादनलाई स्वेदशी बजारमै प्रबर्धन गर्नु रहेको संयोजक बाँस्कोटाले बताउनुभयो ।

चितवनकी मौरीपालक किसान गीता देवकोटाको महको स्टल पनि मेलामा देख्न सकिन्छ । अग्र्यानिक महको प्रचार प्रसार र बजार प्रर्बधनका लागि मेलाले सहयोग गरेको उहाँले बताउनुभयो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij