२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

गणेशको मूर्ति विर्जनमा विवाद भएपछि मलंगवामा अनिश्चितकालीन कर्फ्यु

गणेशको मूर्ति विर्जनमा विवाद भएपछि मलंगवामा अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ- गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा उत्पन्न बिवादको कारण बिहीबार रातिदेखि सर्लाही सदरमुकाम मलंगवाको अवस्था फेरि तनावग्रस्त बनेको छ।

प्रदर्शनसहित आगजनी र तोडफोडका घटना हुन थालेपछि बिहीबार राति १० बजेदेखि सदरमुकाम मलंगवाको निश्चित क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवका अनुसार बिहीबार साँझदेखि केही उच्छृंखल व्यक्तिहरुले सदरमुकामको बजार क्षेत्रमा आगजनी, तोडफोड, ढुंगामुडा र प्रदर्शन गर्न थालेपछि कर्फ्यु आदेश जारी गर्नुपर्ने अवस्था सिर्जना भएको हो।

‘आगजनीबाट केही घर र पसलमा क्षति पुगेको छ,’ सीडीओ यादवले भने, ‘स्थानीय प्रशासनको सक्रियताले थप क्षति हुन पाएको छैन। हामीले आगजनी बारुणयन्त्रको सहायताले निभाएका छौँ।’

बिहीबार साँझदेखि नै मलंगवामा प्रदर्शन भएको थियो। त्यसक्रममा प्रहरी प्रशासनले सम्झाइबुझाइ गर्दा प्रदर्शनकारीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास र हवाइ फाइर गरेको थियो। त्यति गर्दा पनि प्रदर्शनकारीहरुले आफ्ना गतिबिधि नरोकेपछि कर्फ्यु आदेश जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ।

कर्फ्यु आदेशपछि मलंगवाको अवस्था रातभर शान्त रहेको यादवले बताए।

तीन साता अघि कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा मलंगवा नगरपालिका-३ को जुन ठाउँमा तोडफोड र आगजनीका घटना भएका थिए, सोही ठाउँमा हिजो फेरि गणेशको मूर्ति विसर्जन गर्ने नाममा एउटा उच्छृंखल समूहले नियोजित रुपमा विवाद सिर्जना गरी हिन्दु मुस्लिम साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास गरेको स्थानीय प्रशासनले जनाएको छ।

हिंसाको अवस्था भएर सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार र उच्छृङ्खल गतिविधि भएपछि अवस्थालाई नियन्त्रणमा राख्न अनिश्चितकालीन कर्फ्यु आदेश जारी गर्नुपरेको सीडीओ यादवले बताए।

‘सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरिएको छ,’ बिहीबार राति १० बजे सीडीओ यादवले जारी गरेको सूचनामा भनिएको छ।

प्रशासनले कर्फ्यु आदेश जारी गरेको चार किल्ला सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न र कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने यादवले बताए।

‘यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारवाही गर्नेछन्,’ यादवले भने। उनले कर्फ्यु आदेश आज दिनभर जारी रहने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij