दाङ : दशैँ खर्चको जोहो गर्न दैलेखबाट राउटे समुदायका ३ जना व्यक्ति लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको देउखुरी आइपुगेका छन्।
उनीहरु मुख्यमन्त्री तथा मन्त्रीहरूलाई भेट्न दाङ आएका आइपुगेका हुन्। राउटेका अगुवा लालबहादुर शाहीसहित बिर्ख शाही र जीवन शाही बस चढेर मंगलबार देउखुरी आइपुगेका हुन्।
दशैँ खर्चको जोहो गर्न आफूहरू दाङ आएको लालबहादुरले बताए। ‘मुख्यमन्त्री छैनन् रे, भेट्न पाएनौँ। भोलि आउँछन् रे,‘ उनले भने।
उनका अनुसार दशैँ खर्चको लागि सहयोग माग्न आएको र पाएको त्यो सहयोग उनको समुदायका सबैलाई बाँड्ने गरिन्छ। उनले भने, ‘दशैँका नयाँ कपडा लगाउनु पर्छ। टीका लगाउने र माइत पनि जानुपर्ने हुन्छ। त्यसैको लागि सहयोग माग्न आएका हौँ।’
आफूहरूलाई मुख्यले नै सहयोग माग्नको लागि पठाएको समेत उनले बताए। उनले भने, ‘हाम्रा मुख्य आउने हुन् तर उनलाई बसमा चढ्दा धेरै चक्कर लाग्ने भएकाले हामी ३ जनालाई पठाएका हुन्। अबको १/२ दिनमा हामी फर्कन्छौँ।’
उनीहरूलाई राप्ती गाउँपालिका-३ का वडाध्यक्ष उमेश अधिकारीले हिजो साँझ खाना र बस्ने व्यवस्था मिलाएका थिए। आजको खाना र बासको व्यवस्था भने गाउँपालिकाले मिलाउने अध्यक्ष प्रकाश विष्टले जानकारी दिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij