२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

जनप्रशासन क्याम्पसको खाताबाट २० लाख गायब, क्याम्पस प्रमुख शाहीद्वारा झिकिएको थियो रकम

जनप्रशासन क्याम्पसको खाताबाट २० लाख गायब, क्याम्पस प्रमुख शाहीद्वारा झिकिएको थियो रकम

काठमाडौं । जनप्रशासन क्याम्पसका प्रमुख तथा तत्कालीन निमित्त विभागीय प्रमुख हरिभक्त शाहीले विभागको खाताबाट २० लाख रुपियाँ गायव बनाउनुभएको छ । बल्खुस्थित जनप्रशासन क्याम्पसलाई जनप्रशासन केन्द्रीय विभागले ऋणमा दिएको रकम हिनामिना गरेको पाइएको हो ।

हालका विभागीय प्रमुख प्रा. यशोदाकुमारी काफ्लेले २० लाख रुपियाँको खोजी गर्दै ३ चोटी पत्राचार गर्दा पनि चित्तबुझ्दो जवाफ नआएको विभाग स्रोतले जानकारी दिएको छ ।

हालका क्याम्पस प्रमुख हरिभक्त शाहीले निमित्त विभागीय प्रमुख छँदा २०७६ साल फागुनमा क्याम्पसको खर्च व्यवस्थापनका लागि भन्दै विभागबाट २० लाख रुपियाँ सापटी लिएका थिए । सो रकम क्याम्पसको २०७६-७७ र २०७७-७८ को आर्थिक आय–व्यय विवरणमा उल्लेख नगरी खर्च गरिएको थियो ।

२०७६ साल कत्तिक ३ गतेदेखि क्याम्पस प्रमुख रहेका शाहीले त्यतिबेला आफैंले जनप्रशासन केन्द्रीय विभागको निमित्त विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । निमित्त विभागीय प्रमुख भएकै समयमा शाहीले २०७६ साल पुस १३ गते क्याम्पस प्रशासन शाखा प्रमुखबाट रकम सापटी सम्बन्धमा पत्र तयार गर्न लगाई आफैंले पत्रमा तोक लगाएर पैसा निकासी गर्ने निर्णय गरेका थिए ।

शाहीले विभागको कार्यसमिति, सञ्चालक समिति र सदस्य सचिवलाई समेत जानकारी नगराई सोही दिन क्याम्पसकै लेखा सहायक सविना श्रेष्ठबाट भौचर तयार पार्न लगाई लेखा अधिकृत यादव भट्टराईमार्फत १०१८५७९१२ नम्बरको चेकबाट २०७६ पुस १३ मा २० लाख भुक्तानी लगेको देखिएको हो ।

लामो समय गुपचुपमै रहेको र हिनामिना गरिएको सो २० लाखको विषय २०७७ साल भाद्र १ गते विभागीय प्रमुखको जिम्मेवारीमा प्राध्यापक यशोदाकुमारी काफ्ले आएपश्चात् थाहा भएको थियो ।

विभागको बैङ्किङ वित्तीय विवरणमा निज शाहीले जनप्रशासन क्याम्पसका नाममा २० लाख रुपियाँ निकासा लिएको तर सोको निर्णय जानकारी कुनै विभागमा नरहेको देखिएको छ । त्यसपछि सो रकम खोजी गर्ने सम्बन्धमा विभागबाट २०७८ असार १३ र २०७८ साउन २४ गते लगायत विभिन्न समयमा संस्थागत पत्राचार गर्दासमेत निज क्याम्पस प्रमुखले विभिन्न बहाना बनाएर टार्दै आउनुभएको विभाग स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार शाहीले कहिले सापटीबापत लगेको, कहिले कोभिडको समयमा शिक्षकको तलब खुवाउन लगेको, कहिले भवन निर्माणका लागि खर्च गरेको भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिँदै आइरहेका छन्। उक्त रकम क्याम्पसको आम्दानी खातामा समेत देखिएको छैन ।

शाहीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत शिक्षक तथा कर्मचारीको पारिश्रमिक कीर्ते हस्ताक्षर गरेर अपचलन गरेको, स्ववियु रकम हिनामिना गरेको लगायतका विषयमा छानबिन गर्दै आइरहेको छ । यस्तैमा शाहीले थप २० लाख रुपियाँसमेत गायब बनाएको खुलासा भएको हो । जनप्रशासन क्याम्पसका अन्य कर्मचारीहरुले अख्तियारले उक्त २० लाखको सम्बन्धमा समेत छानबिन गर्नुपर्ने माग गर्न थालेका छन् ।

जनप्रशासन क्याम्पसका अन्य कर्मचारीहरुले विभागीय प्रमुख यशोदाकुमारी काफ्लेले यसरी विभागबाट क्याम्पसमा र क्याम्पसबाट विभागमा रकम लाने प्रचलन रहेको जानकारी दिँदै भने– ‘विश्वविद्यालयको आफ्नै नियम रहेको र त्यो नियमअनुसार कार्य भइरहको छ ।’

क्याम्पस प्रमुख शाही र लेखा अधिकृत यादव भट्टराईसहितको मिलेमतोमा सो रकम हिनामिना भएको दाबी स्रोतको छ । यसअघि विश्वविद्यालयबाट आएको आन्तरिक लेखा समितिका कर्मचारीले क्याम्पसमा आर्थिक अनियमितता रहेको, लेखा नमिलेको ठहर गरेपछि जनप्रशासन क्याम्पसका उपप्राध्यापक राधादेवी घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । घिमिरेको समितिले आर्थिक अनियमितता भएको प्रतिवेदन त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार कार्यालयमा पेस गरेको थियो ।

सोही आधारमा त्रिवि कार्यकारी परिषदले आर्थिक महाशाखा उपप्रमुख रूपा श्रेष्ठको संयोजकत्त्वमा अर्को तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो । यसले पनि अनियमितताका विषय औंल्याएर प्रतिवेदन पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij