२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

कञ्चनपुरका आरक्ष पीडितको समस्या तत्काल समाधान गर्न एनपी साउदको माग

कञ्चनपुरका आरक्ष पीडितको समस्या तत्काल समाधान गर्न एनपी साउदको माग

काठमाडौं । नेपाली कांग्रेस सांसद एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडितको समस्या समाधान गर्न माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले न्यायिक आयोग गठन गरेर तत्काल आरक्षपीडितको समस्या समाधान गर्न माग गरेका हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा किसानहरूको जग्गा सरकारले अधीग्रहण गरेको ४० वर्ष भइसकेको छ । ४० वर्षमा ३२ वटा आयोग गठन गरेर करोडौं रकम खर्च भइसक्दा पनि समस्या भने समाधान हुन सकेको छैन । ‘वन्यजन्तुको वर्षायाममा चुरेसम्म विचरणको लागि करिडोर विस्तार गर्न सरकारले जग्गा लिएको हुनाले उक्त जग्गाको सट्टा भर्ना र राहतको व्यवस्था नगर्दा आज पनि धेरै किसानहरू रूखमुनी बास बसेका छन्,’ सांसद साउदले भने ।
उनले तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बनेको पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको आयोगले आरक्ष पीडितको संख्या यकिन गरी राहतको लागि सडकदेखि दूरी हेरी १ देखि ५ कठ्ठा जग्गा वा ५ लाख रकम उपलब्ध गराउने सिफारिस गरेको उल्लेख गरे । तर, उक्त जग्गा र राहत रकम कम भएकोले बढाउनुपर्ने माग राखेर आरक्षपीडितहरु आज पनि आन्दोलनमा रहेका सांसद साउदले सदनलाई जानकारी गराए ।

‘म नेपाल सरकारसँग पूर्वन्यायाधीशको अध्यक्षतामा गैरराजनीतिक आयोग गठन गरेर पीडितमैत्री किसिमले यो समस्या तत्काल समाधान गर्न जोडदार माग गर्दछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij