२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

आगामी निर्वाचनमा ६४ सालको नतिजा ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

आगामी निर्वाचनमा ६४ सालको नतिजा ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा फर्काउन सम्भव रहेको बताएका छन् ।

शनिबार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको ८ औं भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले आफूहरुलाई ३२ सीटे भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले ६४ को निर्वाचनमा भोट हाल्ने मतदाताको लिष्ट बनाएर घरघरमा जानुपर्ने बताए । उनले भने,‘६४ मा हामीलाई भोट हाल्नेको लिष्ट बनाएर मतदाताको घरघरमा गएर आत्मसमीक्षा गर्नुपर्छ । अनि ६४ मा भोट हाल्ने मतदाताको छोराछोरी कहाँछन् उनीहरुको पनि लिष्ट बनाएर उनीहरुसँग सम्पर्क गर्नुपर्यो र तिनलाई पनि अपील गर्नुपर्यो ।’

अध्यक्ष प्रचण्डले ६४ को हैसियतमा पुगेमा अहिले संख्या देखाएर आफूहरुलाई सत्ता बाहिर पार्नेहरु कहिल्यै सत्तामा नफर्किने बताए । प्रचण्डले माओवादी पार्टी फुटाउने प्रतिक्रियावादीहरुको षड्यन्त्र पूरा नहुने बताए ।

उनले भने, ‘अब हाम्रो पार्टी कसैले फुटाउन सक्दैन । बरु फुटेर गएकाहरु एकजुट भएर भ्रष्टाचारीलाई देखाइन्छ । जनयुद्धका बेला पनि हाम्रो पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले गरेकै हुन् । तर अब सम्भव छैन । किनकी पार्टी छाडेर गएका साथीहरुसँग हाम्रो वार्ता चलिरहेको छ । टेन्सन नलिनुहोला ।’

प्रचण्डले विगतमा जनयुद्ध गर्दाका मिलिसिया र कार्यकर्ता पनि कहाँ छन् खोजी गर्नुपर्ने बताए ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनबाट पारित भएपछि माओवादीलाई ढुक्क भएको बताए । उनले विधेयक पास भएसँगै माओवादीको टाउकोमाथि झुुण्डिएको तरबार हटेको बताए ।

उनले भने, ‘अब तपाईं हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij