काठमाडौं । अमेरिकामा नेपाली समुदायले हरितालिका तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन् । अस्टिनमा रहेको अतिथि ग्रील एण्ड बारमा नेपाली समुदायका १ सय भन्दा बढी सहभागिहरु उपस्थित भएर मौलिक दरसहित तीज विशेष कार्यक्रम मनाएका हुन् ।

उर्मिला पुरी,झरना अधिकारी, विनिता खड्का र सामना देवकोटाले संयोजन गरेको हरितालिका तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न हुँदा नेपाली समुदायबीच भेटघाट र शुभकामना आदानप्रदानको सौहार्दपूर्ण वातावरण बनेको हो । अमेरिकामा रहेका नेपालीहरुबीच आत्मीयता बढाउन र नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न तीज विशेष कार्यक्रमले महत्वपूर्ण योगदान गरेको नारायण पुरीले बताउनुभयो ।

सो क्रममा मौलिक दरसहितको खानपान, विशेष सांस्कृतिक प्रस्तुति तथा नाँचगान भएको थियो । कृपा कार्की र सुरेखा महर्जनले अतिथि कलाकारको रुपमा सांगितिक प्रस्तुति दिएका थिए । गीतकार लिलु गुरुङले आफ्ना चर्चित गीतहरुमार्फत सहभागिलाई थप मनोरञ्जन र हौसला प्रदान गरेकी थिइन् । कार्यक्रममा सहभागि सरिता श्रेष्ठले स्वदेशमा नहुँदा पनि दुबोले आयोजना गरेको तीज विशेष कार्यक्रमले आत्मीयता र हौसला प्रदान गरेको बताइन् । उनले आगमि दिनमा पनि नेपाली पर्व र संस्कृतिसम्बन्धी कार्यक्रमहरु नियमित भए आफूहरु सहभागि हुने बताइन् ।

सहभागिमध्ये उत्कृष्ट कपाल, १६ श्रृंगार र उत्कृष्ट नाँच लगायतका विधामा अवार्डसमेत दिइएको थियो । दुबोको प्रस्तुति रहेको कार्यक्रममा इभेन्ट पार्टनरका रुपमा एटएटफोएट मिडिया रहेको थियो ।

साइलीको बुटिक ड्रेस पार्टनर रहेको कार्यक्रम मन पसन्द सुुपरमार्केटसँगको सहकार्यमा आयोजना गरिएको थियो । कार्यक्रमको मिडिया पार्टनर समाज प्रेस रहेको थियो ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij