२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

युवा दिवस मनाउनुको औचित्य

युवा दिवस मनाउनुको औचित्य

आज अगष्ट १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस । विश्वभर अन्र्तराष्ट्रिय युवा दिवस मनाउन थालिएको २५ वर्ष पूरा भएको छ । सन् १९९९ मा संयुक्त राष्ट्र संघले नै विश्वभरका युवाहरुको सवाललाई स्थापित गराउन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । त्यसअघि पनि युवाहरुको आर्थिक सामाजिक विकासका पक्षमा विभिन्न ढंगले प्रयत्नहरु भएकै थिए । अन्तर्राष्ट्रिय युवा दिवस मनाउने अभ्यासको थालनीले युवाका सवाललाई प्राथमिकतामा राख्न र सोही अनुकुल प्रयत्न गर्न थप रचनात्मक मार्ग सिर्जना गरेको थियो ।

नेपालमा पनि हरेक वर्ष अगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । सरकारले युवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति नै बनाएर युवा दिवस मनाउँछ । नेपालको सन्दर्भमा युवा दिवस एक औपचारिक दिनका रुपमा रहेको छ । युवाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि र सरकारी अधिकारीहरु वर्षमा एकदिन युवाका नाममा व्यस्त हुने तिथिमात्रै युवा दिवस हो भन्ने मान्यता स्थापित हुन लागेको छ ।

नेपालमा लामो समय युवाका मुद्दालाई अलग मुद्दाका रुपमा हेर्ने अभ्यास रहेन । युवाहरु राजनीतिक दलका आन्दोलनकारी शक्तिका रुपमा मात्रै रहे । हुनपनि नेपालका हरेकजसो राजनीतिक आन्दोलनलाई निष्कर्षमा पुर्याउन युवाहरुले नै संघर्ष र बलिदानी गरेका छन् । युवा उमेरमै गंगालाल श्रेष्ठहरुले प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गरेका थिए । हरेकजसो आन्दोलनमा युवाको संघर्ष र बलिदानी गुणात्मक एवं मात्रात्मक दुवै हिसाबले निर्णायक रहँदै आएको छ । राजनीतिक परिवर्तनसँग युवाका सवालहरुलाई विशिष्ट मान्यतासहित हेर्नुपर्छ भन्ने हेतुले २०६५ सालपछि युवा तथा खेलकुद मन्त्रालय स्थापना भएको पाइन्छ । त्यसअघि युवाका नाममा छुट्टै मन्त्रालय थिएन । युवा मन्त्रालयको स्थापनाले नेपालमा युवाहरुको सवालमा काम गर्ने विषयलाई प्राथमिकतामा राखेको मान्नुपर्छ । २०७२ सालमा सरकारले राष्ट्रिय युवा परिषद गठन गर्यो । युवा परिषदले पनि युवाहरुको क्षेत्रमा मानक कामहरु गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ दुवैले नेपाली युवाका सरोकारहरुलाई नीतिगत रुपमा समेट्ने प्रयत्न गरेको छ । सरकारले युवा स्वरोजगार कार्यक्रममार्फत नेपाली युवाहरुलाई स्वरोजगार बन्न सहयोग गर्ने संस्थागत प्रयत्न पनि गरेको छ । उल्लेख नीति र संरचनाले नेपाली युवालाई जुन स्तरमा सहयोग गर्नुपर्ने थियो, त्यो भने हुन सकेको छैन । खासगरी युवा लक्षित बजेटको एकीकृत परिचालन हुन नसक्नु, युवा लक्षित कार्यक्रमका कोषहरु पारदर्शी र पक्षपातरहित ढंगले सञ्चालन नहुनु पनि समस्याका रुपमा रहँदै आएको छ ।

यसवर्ष नेपालमा “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि : डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । दिवसको नाराले नै मुख्यतः दुइवटा सवाललाई प्राथमिकतामा राखेको छ । पहिलो — दिगो विकास लक्ष्य र दोस्रो — डिजिटल प्रविधिमा युवा पहुँच । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा सबै प्रकारका गरिबी उन्मुलन गरी मानव, पृथ्वी र समृद्धिको लागि समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माणको परिकल्पना गरेको छ । त्यो परिकल्पना नै दिगो विकास लक्ष्य हो । दिगो विकास लक्ष्य युवाहरुका लागि सबैभन्दा बढी जरुरी छ । किनकी हरेक समाजमा गरिबीसँग जुझ्ने र सामना गर्ने मुख्य वर्ग नै युवा हो । कुनैपनि मुलुकको समृद्धि वा प्रगतिको सूचक युवाहरुको जीवनस्तरबाटै मापन गर्न सकिन्छ । जहाँ युवाहरुसँग रोजगार छ, जहाँ युवासँग अवसर छ, जहाँ युवा व्यस्त छन्, जहाँ युवा खुसी छन् त्यही देश नै समृद्ध र विकसित छन् ।

नेपाल पनि दिगो विकास लक्ष्य हासिल गर्न संघर्षरत छ । यद्यपि कामको रफ्तार हेर्दा नेपालले लक्ष्य अनुकुलका धेरै कामहरु गर्नै बाकी छ । खासगरी युवाको क्षेत्रमा घोषित कार्यक्रमहरुको सफलता दर सन्तोषजनक छैन । स्वरोजगार हुन चाहने युवाका लागि सरकारले विभिन्न कार्यक्रम घोषणा त गरेको छ तर त्यसको लाभ लिने समूह अत्यन्तै न्यून छ । झन्झटिलो प्रक्रिया, कानूनी उल्झन र प्रोत्साहनको कमीका कारण युवाहरु देशभित्रै केही गर्नेभन्दा देश छाडेर जाने कुरामा पनि केन्द्रीत छन् । वर्षेनी करिब ७ लाख युवाहरु सुन्दर भविष्यको अपेक्षासहित देश छाडिरहेका छन् । अवसरका लागि मात्रै नभएर स्थायी रुपमा देश छाड्नेहरुको संख्या पनि बढ्दो छ ।

सहरिया र उच्चशिक्षा हासिल गरेका युवाहरुमा तुलनात्मक रुपमा डिजिटल साक्षरता बढी भएपनि त्यसको सकरात्मक उपयोग हुन सकेको छैन । सूचना प्रविधिको क्षेत्रमा ज्ञान र सीप हासिल गरेका अधिकांश युवाको गन्तव्य युरोप, अमेरिका र अष्ट्रेलिया नै बन्न पुगेको छ । यसो हुनुमा देशभित्र पर्याप्त अवसर नहुनु र सीप अनुकुलको आम्दानी नहुनु मुख्य कारण हो । युवा स्वरोजगार कोषको रकम योग्यता र आवश्यकताभन्दा निकटताका आधारमा बाँड्ने प्रचलनले एकारित भ्रष्टाचार मौलाएको छ भने अर्कोतिर युवाहरु निराश छन् । यस्तो पृष्ठभूमिमा युवा दिवसको उत्सव केबल एक औपचारिकता मात्रै बन्न पुगेको छ । सरकारले युवाहरुको निराशा चिर्ने नीति र कार्यक्रममात्रै होइन व्यवहारसमेत प्रस्तुत गर्न जरुरी छ । अन्यथा नेपाल युवाहरुको जनसांख्यिकी लाभ लिन चुक्ने मात्रै होइन युवाहरुको सान्दर्भिकता नरहने मुलुक बन्ने खतरा बढ्दो छ ।

–लेखक समाजप्रेसकी ग्लोबल इडिटर हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij