२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

दलहरूसँग मिलेर सरकारमा जाँदा गाली खाने कामबाहेक केही नहुँदो रहेछः सभापति लामिछाने

दलहरूसँग मिलेर सरकारमा जाँदा गाली खाने कामबाहेक केही नहुँदो रहेछः सभापति लामिछाने

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

रास्वपाले बिहबिार आयोजना गरेको ‘नीति मन्थन’ अन्तरक्रियामा उनले राजनीतिक नियुक्तिको प्रभावलाई अन्त्य गर्न स्वायत्त निकायको स्थापना र स्वतन्त्र रुपमा काम गर्न सक्ने योग्य विज्ञ व्यक्तिको नियुक्ति हुनुपर्नेमा जोड दिए ।

रास्वपाको अर्थनीति विभाग र उद्योग तथा वाणिज्य विभागद्वारा आयोजित अन्तरक्रियामा लामिछानेले राज्यका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिले मुलुकको सुशासनमा प्रभाव पर्ने धारणा राखे ।

रास्वपाले कार्यकर्ता र भातृसंस्थाको भारी नबोक्ने स्पष्ट पार्दै उहाँले पार्टीभित्रै योगदान दिएका आधारमा नियुक्ति माग्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

क्रेडिट रेटिङ एजेन्सीबारे चर्चा गर्दै सभापति लामिछानेले  ५० करोडभन्दा माथिको कर्जा रेटिङ गर्ने एजेन्सीहरुको नियमनमा ध्यान दिनुपर्नेमा जोड दिए । “यी रेटिङ एजेन्सीलाई कसले हेर्ने ? त्यसको नियमन गर्ने निकाय को ? यस्ता एजेन्सीमा केही सीमित घराना हावी छन्”, उनले भने ।

लामिछानेले सरकारमा सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताए । उनले भने, ‘भागबण्डा लिएर सरकारमा जानु भएको थियो नि भन्ने प्रश्न उठेको छ । यसमा एउटा कुरा स्पष्ट गर्न चाहन्छु, यदि हाम्रो पार्टीले राजनीतिक भागबण्डामा आफ्नो भाग खोज्थ्यो भने मन्त्रिपरिषदको बैठकमा खल्तीबाट दुईचार जनाको नाम दिइहाल्थ्यौं । तर, भागबण्डा नखाने भए सरकारमा किन गएको भनेर अर्कोतिर प्रश्न गर्छन् ।

दलहरूसँग मिलेर जाँदा गाली खाने काम बाहेक केही नहुँदो रहेछ । केही गर्नु थियो, सिक्नु थियो, सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नको लागि हामी भागबण्डामा गएका हौं ।’

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य एवं रास्वपाको उपसभापति स्वर्णीम वाग्लले विदेशी मुद्राको सञ्चितिको सदुपयोगमा गर्नुपर्नेमा जोड दिए। उनले वित्तीय नियमनलाई समयअनुकूल बनाउनुपर्ने धारणा व्यक्त गरे ।

उनले आधुनिक विश्वमा डिजिटल मुद्रा जस्तै पैसाप्रतिको अवधारणा र यसको नियमनलाई नयाँ शिराबाट बहस हुनुपर्ने आवश्यकता औँल्याए । उनले केन्द्रीय बैंकको डिजिटल मुद्रा (सिबिडिसी)को भविष्यमा नेपालमा प्रयोगको सम्भावना र तयारीबारे समेत सचेत गराए ।

अन्तरक्रियामा आउँदै गरेको मौद्रिक नीतिबारे बहस गरिएको थियो । अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा, इक्रा नेपालका व्यापार प्रमुख वर्षा श्रेष्ठ र पूर्व बैंकर भुवनकुमार दाहाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij