२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

प्रधानमन्त्री प्रचण्ड संसदबाट विश्वासको मत पाउन असफल

प्रधानमन्त्री प्रचण्ड संसदबाट विश्वासको मत पाउन असफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि शुक्रबार बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव अस्वीकृत भएको जानकारी गराएका थिए ।

मतदानमा कुल दुई सय ५८ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसदको गरी जम्मा ६३ मत परेको थियो भने विपक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्टीलगायत दलका गरी एक सय ९४ मत खसेको थियो ।

मतदानमा एक सदस्य तटस्थ रहेका थिए । प्रधानमन्त्रीको विश्वासको मत अस्वीकृत भएसँगै संविधानबमोजिम नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । योसँगै प्रचण्ड सरकार १९ महिनामा ढलेको छ ।

उनी २०७९ पुस १० मा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि प्रचण्डले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका थिए।

प्रतिनिधिसभाका २७० जना सांसदमध्ये २६८ जनाले विश्वासको मत दिएका थिए। दुईजना सांसदले विपक्षमा मतदान गरेका थिए । अब कांग्रेस र एमालेको गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij