२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

विमानस्थलमा बरामद भएको सुन राष्ट्र बैंकले जोख्दै, भन्सार एजेन्टसहित ६ जना पक्राउ

विमानस्थलमा बरामद भएको सुन राष्ट्र बैंकले जोख्दै, भन्सार एजेन्टसहित ६ जना पक्राउ

काठमाडौं- राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको सुन आज राष्ट्र बैंकले जोख्ने भएको छ। आज बिहान १० बजे राष्ट्र बैंकले सुन जोख्न लागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गरिसकेको एक क्विन्टल सुन बुधबार बरामद भएको थियो। ​ आठ वटा कार्टुन बक्समा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो। जसको तौल १ सय ५४ केजी उल्लेख रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिए।

गत जुलाई १६ तारिखमा हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको खनालको भनाइ छ। तीन दिन विमानस्थलको भन्सार गोदाममा राखेर बुधबार बेलुका सुन निकालिएको थियो।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना हो। यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुन काठमाडौंको क्षेत्रपाटीबाट समातिएको थियो।

बुधबार समातिएको सुन बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’ का नाममा आएको थियो। सुन नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ।

सुन ओसारपसारमा संलग्न रहेका ६ जनालाई पक्राउ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानले जानकारी दिए। पक्राउ पर्नेमा एक भन्सार एजेन्ट पनि छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको ढुंगानाको भनाइ छ। अनुसन्धानपछि थप जानकारी दिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij