२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

प्रेस युनियनले घोषणा गर्यो विभिन्न प्रशिक्षण कार्यक्रम

प्रेस युनियनले घोषणा गर्यो विभिन्न प्रशिक्षण कार्यक्रम

काठमाडौं । नेपाल प्रेस युनियनले प्रशिक्षण वर्ष २०८० अन्तर्गत विभिन्न प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ । युनियनको केन्द्रीय प्रशिक्षण विभागको प्रथम बैठकले केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारी एवं सदस्यका लागि संगठन, नेतृत्व विकास एवं क्षमता अभिवृद्धिको प्रशिक्षक प्रशिक्षणसहितका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रशिक्षण विभागका प्रमुख एवं युनियनका उपाध्यक्ष नकुल अर्यालको अध्यक्षतामा बसेको बैठकले माघ पहिलो साता ५ दिने विशिष्टीकृत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै युनियनको केन्द्रीय कार्यालयमा साप्ताहिक रुपमा प्रशिक्षणात्मक अन्तरक्रिया श्रृखंला सञ्चालन गर्ने निर्णय भएको विभागका प्रमुख अर्यालले जानकारी दिए ।

‘केन्द्रीय समिति र प्रदेश समितिलाई संगठन, नेतृत्व विकास र क्षमता अभिवृद्धिबारे विशेष प्रशिक्षण दिनेछौं । क्रियाशील पत्रकारहरुका लागि ५ दिने विशिष्टीकृत तालिम तत्काल सञ्चालन गर्छौ भने साप्ताहिक रुपमा युनियन केन्द्रीय कार्यालयमा प्रशिक्षणात्मक अन्तरक्रिया आयोजना हुनेछ’, अर्यालले भने । विभागले घोषणा गरेका कार्यक्रमहरुले नेपाल प्रेस युनियनले घोषणा गरेको प्रशिक्षण वर्ष सफल पार्न र लोकतन्त्रवादी पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने अर्यालको भनाई छ । प्रशिक्षण कार्यक्रमहरु युनियनको प्रदेश समिति र शाखासँग समन्वय गरेर नियमित सञ्चालन गरिनेछ ।

नेपाल प्रेस युनियन केन्द्रीय प्रशिक्षण विभागको बैठक

बैठकमा उपस्थित युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले युनियन आवद्ध देशभरका पत्रकारले क्षमता अभिवृद्धिको अवसर पाउनेगरी कार्यक्रम सञ्चालन गर्न विभागलाई निर्देशन दिए । युनियनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षण, सूचनाको हक प्रबर्धन, सुशासन एवं पारदर्शिता तथा लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गर्न प्रशिक्षण कार्यक्रमहरु सफल हुने विश्वास लिएको छ ।

प्रशिक्षण विभागले स्थानीय आवश्यकता अनुसारको प्रशिक्षण कार्यक्रमको खाका बनाउन सबै शाखासँग अन्तरक्रिया र सुझाव संकलन गर्ने निर्णयसमेत गरेको छ । जिल्ला शाखाहरुससँगको समन्वयमा हरेक शाखामा कम्तीमा १ प्रशिक्षण सञ्चालन गर्ने निर्णय विभागले गरेको छ । युनियनको प्रशिक्षण विभागमा वरिष्ठ पत्रकारहरु प्रकाश रिमाल, शालिक सुवेदी, शिरोमणि ढुंगाना, मनोज जोशी, उपमहासचिव रवीन्द्र सुवेदी, सचिव खगेन्द्र भण्डारी र केन्द्र्रीय सदस्य सविना पौडेल रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij