२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

भक्तपुरमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

भक्तपुरमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

 

भक्तपुर ।  नेपाल भारोत्तोलन सङ्घले यही पुस २४ गतेदेखि २६ गतेसम्म मध्यपुरथिमिमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

सङ्घले आइतबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै आयोजक भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले पुरुष र महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा हुने बताए ।

प्रतियोगितामा दुई सय ५० खेलाडीको सहभागिता रहने भन्दै उनले सहभागी सबैको खाना र बसोबासको व्यवस्था सङ्घले नै गर्ने बताए । प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ, एसियाली भारोत्तोलन महासङ्घ र नेपाल भारोत्तोलन सङ्घको नियमअनुसार खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ८६ लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगितामा विभिन्न चार तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथि, यूथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ केजी माथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी माथि तथा यूथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कूल दुई सय ७० तथा पुरुषतर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्यसहित २७० गरी कूल पाँच सय ४० पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij