२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

२०८३ मंसिर ७ आइतबार

गैरआवासीय नेपालीको नागरिकता समस्या समाधानमा पहल गर्ने बोहराको प्रतिबद्धता

गैरआवासीय नेपालीको नागरिकता समस्या समाधानमा पहल गर्ने बोहराको प्रतिबद्धता

अमेरिका — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले गैरआवासीय नेपालीको नागरिकता, सम्पत्ति र लगानीसँग सम्बन्धित समस्या समाधान गर्न कानुनी तथा नीतिगत सुधारको पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

अमेरिकामा आयोजित कार्यक्रममा बोल्दै बोहराले विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान र सीप नेपाल भित्र्याउन प्रशासनिक झन्झट हटाउनुपर्ने बताए। लगानीका लागि आह्वानसँगै पुँजीको सुरक्षा र प्रतिफलको सुनिश्चिततामा सरकार जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो।

“लगानीको वातावरण बनाउने जिम्मेवारी हाम्रो हो, सरकारको हो,” बोहराले भने, “तपाईंहरूले रोजगारी सिर्जना गर्ने हो। तपाईंहरूका लागि सहज नीति र नियम बनाउने जिम्मेवारी हाम्रो हो।”

गैरआवासीय नेपालीको पैतृक सम्पत्ति तथा विदेशको कमाइबाट नेपालमा जोडिएको घरजग्गाको सुरक्षाबारे पनि बोहराले प्रतिबद्धता जनाए। कम्पनी सञ्चालन, घरजग्गाको कारोबार र सरकारी सेवा लिने क्रममा पुराना कानुनी व्यवस्थाले सिर्जना गरेका अवरोध हटाउने विषयमा छलफल भइरहेको जानकारी दिए।

नागरिकता प्राप्तिका लागि आवश्यक कागजात पूरा गर्दा पनि ढिलासुस्ती भए जानकारी गराउन बोहराको आग्रह थियो। आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था व्यवहारमा कार्यान्वयन हुनुपर्ने भन्दै तत्काल समाधान गर्न सकिने समस्यामा सहजीकरण गर्ने बताए।

अमेरिका आउनुअघि पार्टी सभापति रवि लामिछानेसँग गैरआवासीय नेपालीका सरोकार र चुनावी प्रतिबद्धताबारे छलफल गरेको बोहराले उल्लेख गरे। रास्वपाको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने प्रतिबद्धतालाई नागरिकता, सम्पत्तिको सुरक्षा र सरकारी सेवामा सहज पहुँचसँग जोडेर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

गैरआवासीय नेपालीलाई नेपालको सेयर बजारमा लगानी गर्न दिने विषयमा तयारी भइरहेको जानकारी दिँदै बोहराले जलविद्युत् र पर्यटन क्षेत्रका सम्भावना औँल्याए। लगानीको सुरक्षासँगै आर्जित नाफा विदेश लैजाने प्रक्रिया सहज बनाउनुपर्नेमा समेत जोड दिए।

कार्यक्रममा आर्थिक लगानीबाहेक विदेशमा रहेका नेपाली विज्ञको अनुभव उपयोग गर्ने विषय पनि उठ्यो। ‘ब्रेन गेन सेन्टर’लाई व्यवस्थित र प्रभावकारी बनाउन प्रवासी नेपालीकै सल्लाह लिनुपर्ने बोहराको धारणा थियो।

विदेशमा हुर्किरहेको पुस्तालाई नेपालसँग जोड्न भाषा, संस्कार र संस्कृतिसम्बन्धी कार्यक्रम दूतावासमार्फत सञ्चालन गर्न सकिने प्रस्ताव पनि राखे। नेपालसँगको सम्बन्धलाई आर्थिक कारोबारमा सीमित नराखी पारिवारिक, सामाजिक र सांस्कृतिक रूपमा बलियो बनाउनुपर्ने बताए।

सरकारका केही घोषित काममा ढिलाइ र प्रशासनिक अलमल रहेको स्वीकार गर्दै बोहराले सुशासन तथा सेवा प्रवाहमा सुधारको प्रयास भइरहेको दाबी गरे। पहुँचका आधारमा काम गराउनुपर्ने अवस्था हटाएर नियम पालना गर्दा सहजै सेवा पाउने व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

स्वदेशमै रोजगारी सिर्जना गर्न सके बाध्यताले विदेशिनुपर्ने अवस्था घट्ने उल्लेख गर्दै बोहराले नेपाल फर्कन चाहने र विदेशबाटै योगदान गर्न इच्छुक नेपालीका लागि अनुकूल वातावरण बनाउन पहल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij