२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

२०८३ मंसिर ७ आइतबार

स्थानीय र प्रदेशसभा निर्वाचनको समयतालिकाबारे सरकार पहिला प्रष्ट हुनुपर्छः सभापति थापा

स्थानीय र प्रदेशसभा निर्वाचनको समयतालिकाबारे सरकार पहिला प्रष्ट हुनुपर्छः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा संविधानले व्यवस्था गरेअनुसार अलग–अलग समयमा गर्ने भन्ने विषयमा सरकारले पहिले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचनको समयतालिका र अन्य विषयमा गरेको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै सभापति थापाले सरकारको औपचारिक प्रस्ताव आएपछि मात्रै पार्टीले आफ्नो धारणा तय गर्ने बताएका हुन् ।

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने विषय चर्चामा रहे पनि सरकारले औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै उनले सञ्चारमाध्यममा आएका समाचारका आधारमा राजनीतिक दलहरूले धारणा बनाउनुपर्ने अवस्था उचित नभएको टिप्पणी गरे ।

उनले प्रश्न गरे, ‘स्थानीय र प्रदेश चुनाव कहिले भन्ने संविधानअनुसार हुने कुरा छँदैछ, यसमा निर्वाचन आयोगले केही भन्ने कुरा भएन। सरकार केही पनि बोल्दैन, केही पनि भन्दैन। पत्रपत्रिकामा आएको भरमा हामी दलको धारणा बनाउँदै किन हिँड्ने ?’

उनले निर्वाचन आयोगले प्रारम्भिक छलफल थालेकाले कांग्रेसले पनि पार्टीभित्र यस विषयमा विमर्श गर्ने बताए । सरकारले निर्वाचन एकैपटक गर्ने प्रस्ताव अघि सारे त्यसबारे दलहरूले आफ्नो धारणा राख्ने उनले बताए ।

निर्वाचन एकैपटक गर्दा खर्च कम हुनेलगायतका तर्क अघि सारिएको उल्लेख गर्दै सभापति थापाले यस्तो निर्णयमा पुग्न सरकारले औपचारिक प्रस्ताव र दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताए । त्यसपछि पार्टीभित्र तथा अन्य राजनीतिक दलसँग छलफल गरेर निष्कर्ष निकाल्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij