२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

छठ पूजाका लागि चिटिक्क कमलपोखरी, ६ सय ब्रतालुलाई व्यवस्थापन गर्ने तयारी

छठ पूजाका लागि चिटिक्क कमलपोखरी, ६ सय ब्रतालुलाई व्यवस्थापन गर्ने तयारी

काठमाडौँ । काठमाडौँको कमलपोखरी छठका ब्रतालुका लागि तयार भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १ ले अग्रवाल भवनसँग सहकार्य गर्दै ब्रतालुहरुका लागि बस्ने स्थानको व्यवस्था गरेको हो ।

सरसफाइ, बत्तीको व्यवस्थापन, घाट व्यवस्थापन लगायत काम तयारी अवस्थामा रहेको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए । ‘कमलपोखरी छठ पर्वको पर्याय जस्तै बनेको छ । ब्रतालुहरुलाई यो स्थान निःशुल्क उपलब्ध गराउने गरिएको छ । श्रद्धालुहरुको चाप छ । सकेसम्म आउने जत्तिलाई व्यवस्थापन गर्ने प्रयत्न गर्नेछौँ ।’ श्रेष्ठले भने ।

कमलपोखरीमा छठ पर्वको तयारीका लागि वडाले विगत वर्षदेखि नै काम गरिरहेको छ । त्यसलाई यस वर्ष पनि निरन्तरता दिएका छौँ । वडासचिव सर्वज्ञराज पौडेलले तयारीका विषयमा जानकारी दिँदै भने, ‘पर्व सुरु हुनुअघि नै सरसफाइ गरेका छौँ । पर्वका समयमा सुन्दरता र सुरक्षामा विशेष ध्यान दिएका छौँ । ब्रत सकिएपछि विशेष सरसफाइ गर्नेछौँ ।’

अग्रवाल भवनका प्रतिनिधि गजेन्द्र झाले, कमलपोखरीमा अहिलेको क्षमता ५ जना ब्रतालुको भए पनि स्थान ६ सय जनाका लागि स्थान व्यवस्थापनमा काम गरिरहेको बताए ।

काठमाडौँ महानगरपालिकाले विगतका वर्षदेखि कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाट लगायत स्थानलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ ।

बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन गरिँदै आएको छ । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी भन्छन्, ‘ब्रतका दिन लाइन व्यवस्थापन गर्ने, बिरामी र अशसक्तका लागि सम्भावित आकस्मिक सेवा र व्यवस्थापनको काम गर्ने जस्ता कामका लागि हामी तयार छौँ । यसका लागि प्रहरी बल परिचालित हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij