२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

हेगसेथलाई हटाउने तयारी भइरहेको समाचारको ह्वाइट हाउसद्वारा खण्डन

हेगसेथलाई हटाउने तयारी भइरहेको समाचारको ह्वाइट हाउसद्वारा खण्डन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको पराजयपछि रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियोले पद छाड्न लागेको भन्ने चर्चालाई ह्वाइट हाउसले खण्डन गरेको छ।

अमेरिकी सञ्चारमाध्यमहरूले प्रशासनमा फेरबदल हुन सक्ने र विशेषगरी रक्षामन्त्री हेगसेथलाई हटाउने विषयमा छलफल भइरहेको समाचार प्रकाशित गरेका थिए । इरानसँगको युद्ध व्यवस्थापनमा उनको भूमिकालाई रिपब्लिकन पार्टीको निर्वाचनमा भएको ठूलो पराजयको एउटा कारण मानिएको छ।

कांग्रेसबाट बाहिरिँदै गरेका एक रिपब्लिकन सांसदले आगामी सातादेखि नै हेगसेथविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने चेतावनी दिएका छन्। त्यसको जवाफमा हेगसेथले भिडियो सन्देश जारी गर्दै आफ्नो कार्यसम्पादनको बचाउ गरेका छन्।

उनले आफूहरू प्रभावकारी भएकै कारण आक्रमणको निशाना बनाइएको दाबी गर्दै भने, ‘उनीहरूले मलाई आक्रमण गर्छन्, हामीलाई आक्रमण गर्छन्, किनभने हामी प्रभावकारी छौँ। उनीहरूको प्रयास सफल हुने छैन। हामी पछि हट्ने छैनौँ।’

यता विदेशमन्त्री रुबियोले पनि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनको तयारीका लागि पद छाड्न लागेको भन्ने समाचार अस्वीकार गरेका छन्। द न्युयोर्क टाइम्स सँगको अन्तर्वार्तामा उनले ट्रम्पको कार्यकाल समाप्त हुँदासम्म सरकारमा काम गर्ने आफ्नो योजना रहेको बताएका छन्।

‘ट्रम्पसँगै कार्यकालको अन्त्यसम्म काम गर्ने मेरो योजना सधैँ यही थियो। म अहिले गरिरहेको कामलाई माया गर्छु,’ रुबियोले भने। उनले आफूले पद छाड्ने चर्चाप्रति व्यंग्य गर्दै भने, ‘उनी पद छाड्दैछन् भनेर सुन्दा म सधैँ हाँस्छु। म सोध्छु– कुन पद छाड्ने?’

ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयले पनि रुबियोले पद छाड्न लागेको समाचारलाई ‘फेक न्युज’ भन्दै खण्डन गरेका छन्।
तर रक्षामन्त्री हेगसेथको राजनीतिक भविष्य भने अझै अनिश्चित देखिएको छ। इरानसँगको आठ महिनादेखि जारी युद्धलाई रिपब्लिकन पार्टीको निर्वाचनमा भएको पराजयको कारण मान्दै राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले समेत आलोचना गरेका छन्।

एबीसी न्युजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले हेगसेथलाई हटाउनुपर्ने विषयमा आफूलाई फोन आएको स्वीकार गरे पनि उनलाई पदमा कायम राख्ने आफ्नो योजना रहेको बताएका थिए।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हेगसेथले ‘उत्कृष्ट काम गरेको’ दाबी गरे। उनले जनवरीमा भेनेजुएलाका नेता निकोलस मादुरो पक्राउ परेको घटनासहित इरान युद्धलाई पनि हेगसेथका उपलब्धिका रूपमा उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij