काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशन यथाशीघ्र बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।सोमबार बसेको विपक्षी दलहरुको बैठकले पछिल्लो समय सरकारका गतिविधि जनभावनाविपरीत रहेको निष्कर्ष निकाल्दै त्यसबारे संसद्मा गम्भीर छलफल हुनुपर्नेमा जोड दिएको हो ।
बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद् अधिवेशन आह्वानका लागि सभामुखसहित सत्तारूढ दलसँग आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय इनाम सापकोटा र बिचौलियासँग जोडिएका विषय सार्वजनिक हुनुका साथै न्यायालयसमेत विवादमा तानिएको विषयमा बैठकमा छलफल भएको थियो । यस्ता विषयको सत्यतथ्यबारे संसद्भित्रै बहस हुनुपर्ने नेताहरूको धारणा रहेको उनले बताए ।
त्यसैगरी प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति तथा सञ्चारमाध्यममा भइरहेको प्रहरी धरपकडका विषयले पनि बैठकमा स्थान पाएको थियो ।उनले भने, ‘यी विषयलाई संस्थागत रूपमा संसद्बाटै बहस र छलफल गर्नुपर्छ भन्ने निष्कर्षसहित तत्काल सदन बोलाउन पहल गर्ने निर्णय भएको छ ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij