रोयटर्स । अमेरिकाको मध्यावधि निर्वाचन नजिकिँदै गर्दा मिशिगनकी प्रभावशाली डेमोक्रेटिक सांसद हेली स्टिभन्सले रिपब्लिकन सिनेट उम्मेदवार माइक रोजर्सलाई समर्थन गरेकी छन् ।
आगामी मंगलबार हुने निर्वाचनको दुई दिनअघि स्टिभन्सले आइतबार रोजर्सलाई सार्वजनिक समर्थन गरेकी हुन् । उनको यो निर्णयले मिशिगनमा डेमोक्रेटिक पार्टीभित्रको विवाद थप चर्किने देखिएको छ ।
स्टिभन्स हालै सम्पन्न डेमोक्रेटिक पार्टीको सिनेट उम्मेदवार छनोट प्रक्रियामा अब्दुल एल–सयदसँग पराजित भएकी थिइन् । निर्वाचनमा पराजित भएपछि उनले एल–सयदको चुनावी अभियानमा सहभागी नहुने घोषणा गर्दै रोजर्ससँग डेट्रोइटस्थित एक चर्चमा संयुक्त उपस्थिति जनाएकी हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा स्टिभन्सले आफू एल–सयदको चुनावी अभियानमा आबद्ध हुन नसक्ने बताएकी छन् ।
उनको समर्थनप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् । आयोवामा आयोजित राजनीतिक सभाका क्रममा ट्रम्पले स्टिभन्सलाई रिपब्लिकन पार्टीमा प्रवेश गर्नसमेत निम्तो दिएका छन् । उनले स्टिभन्सलाई फोन गरेर धन्यवाद दिने बताएका छन् ।
स्टिभन्सको समर्थन घोषणा हुनुअघि एल–सयदको चुनावी अभियानले उनलाई निर्वाचन सम्पन्न नहुँदासम्म आफ्ना कार्यक्रममा सहभागी नहुन आग्रह गरेको थियो । उनको उपस्थितिले चुनावका मुख्य मुद्दाबाट ध्यान अन्यत्र मोडिन सक्ने अभियानको बुझाइ थियो ।
स्टिभन्सले एक बाह्य समूहले सार्वजनिक गरेको विज्ञापनमा इजरायललाई खाद्यान्नको बढ्दो मूल्यका लागि दोषी देखाइएको भन्दै त्यसको निन्दा गर्न एल–सयदसँग माग गरेकी थिइन् । यही विवादपछि दुवै नेताबीचको संयुक्त कार्यक्रमसमेत प्रभावित भएको थियो ।
आगामी निर्वाचनमा अमेरिकी सिनेटका ३५ र प्रतिनिधिसभाका सबै ४३५ सिटका लागि मतदान हुँदैछ । हाल दुवै सदनमा रिपब्लिकन पार्टीको झिनो बहुमत छ ।
सर्वेक्षणअनुसार प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको जित्ने सम्भावना बलियो देखिए पनि सिनेटमा भने दुवै दलबीच कडा प्रतिस्पर्धा छ । मिशिगन र अलास्कासहित केही राज्यको नतिजाले सिनेटमा कसको बहुमत कायम हुन्छ भन्ने निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
डेमोक्रेटिक पार्टीले कुनै एक सदनमा बहुमत हासिल गरे राष्ट्रपति ट्रम्पका विधायिकी योजनामा अवरोध पुर्याउन तथा उनको प्रशासनमाथि संसदीय अनुसन्धान अघि बढाउन सक्नेछ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij