२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता दिने र व्यवस्थित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग सुर्खेतमा छलफल गरेका छन्।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थलसमेत रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफल केन्द्रित रहेको हो।

सुर्खेतमा सम्पन्न उक्त भेटमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लबीच प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सफल पार्न संघीय र प्रदेश सरकारबीच हुनुपर्ने समन्वय, पूर्वाधारहरूको अवस्था लगायतका विषयमा कुराकानी भएको हो।

छलफलका क्रममा मन्त्री पोखरेलले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्न मन्त्रालयले सबै पक्षसँग सहकार्य गरिरहेको बताउँदै कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको विकास र व्यवस्थापनमा संघीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यस्तै, मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा लागिपरेको जानकारी गराउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

मन्त्री पोखरेल दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निरीक्षण तथा सरोकारवालाहरूसँगको समन्वयका लागि हाल सुर्खेत भ्रमणमा छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij