काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि आवेदन खुला गर्ने निर्णय गरेको हो ।
पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरेको हो ।
बैठकले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन विभिन्न सातवटा उपसमिति गठन गरेको छ । जसअनुसार क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिमा डा. तोशिमा कार्कीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिमा मिलन लिम्बूलाई संयोजक तोकिएको रास्वपाले जनाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखाको प्रभावकारी कार्यान्वयन तथा समन्वयका लागि यी उपसमितिहरू गठन गरेको हो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij