टोकियो । अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन् ।
जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि उक्त जानकारी दिए। ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन हुने क्षेप्यास्त्र एफ–३५ लडाकू विमानका लागि आवश्यक रहेको उनले बताए । यद्यपि, सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
कोइजुमीले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै जापान–अमेरिका गठबन्धनको प्रतिरोध तथा प्रतिक्रिया क्षमता थप बलियो बनाउन सहमति भएको बताए । उनले अन्तर्राष्ट्रिय कानूनमा आधारित स्वतन्त्र र खुला व्यवस्थाको महत्त्वमा पनि दुवै देशले जोड दिएको जानकारी दिए ।
अमेरिकी रक्षामन्त्री हेग्सेथले आसियानका रक्षामन्त्रीहरूसँगको बैठकमा एसियामा शान्ति र स्थिरता कायम राख्न सहयोग गर्ने ट्रम्प प्रशासनको प्रतिबद्धता दोहोर्याए। उनले अमेरिकाले आफ्ना सहयोगी र साझेदारको सुरक्षा तथा हितको रक्षा गर्ने बताए ।
अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले पनि अमेरिकालगायत सहयोगी राष्ट्रसँग मिलेर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानून र समुद्री आवागमनको स्वतन्त्रता कायम राख्ने प्रयास जारी राख्ने बताए । गत वर्ष चिनियाँ जे–१६ लडाकू विमान अस्ट्रेलियाको पी–८ पोसाइडन निगरानी विमानको नजिक आएर फ्लेयर छोडेको घटनापछि अस्ट्रेलियाले चासो व्यक्त गरेको थियो ।
दक्षिण चीन सागरमा फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानका पनि क्षेत्रगत दाबी छन् । चीन र फिलिपिन्सका तटरक्षक तथा नौसेनाका जहाजबीच विवादित समुद्री क्षेत्रमा विभिन्न विषयलाई लिएर तनाव उत्पन्न हुँदै आएको छ । अमेरिकाले फिलिपिन्सका सैनिक, जहाज वा विमानमाथि सशस्त्र आक्रमण भएमा आफ्नो सन्धिगत प्रतिबद्धताअनुसार सहयोग गर्ने बताउँदै आएको छ ।
यसैगरी, जापान र चीनबीच पूर्वी चीन सागरका केही टापुलाई लिएर पनि विवाद छ । दुवै देशले समुद्री क्षेत्रमा आफ्नो अधिकार र गतिविधिसम्बन्धी विषयमा फरक धारणा राख्दै आएका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij