काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन्।
परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ।
सो सम्मेलनलाई पूर्व राष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ।
फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ।
त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ। पूर्व राष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij