अस्टिन, टेक्सास । चाडपर्वको उल्लास, नेपाली परिकारको स्वाद, सांगीतिक प्रस्तुति र स्थानीय व्यवसायको सहभागिताबीच अमेरिकाको टेक्सासस्थित अस्टिनमा आयोजित तीनदिने दसैँ मेला सम्पन्न भएको छ। आयोजकका अनुसार पहिलोपटक सुरु गरिएको यस मेलाले परदेशमा रहेका नेपालीलाई दसैँको खुसी साट्ने साझा थलो उपलब्ध गराउनुका साथै विभिन्न समुदाय, साना व्यवसाय र महिला उद्यमीलाई एकै ठाउँमा जोडेको छ।
बडादसैँको अवसर पारेर आयोजना गरिएको मेलामा परिवार, साथीभाइ र आफन्तसँग रमाउन आउनेहरूको उल्लेख्य उपस्थिति थियो। कोही चाडपर्वका लागि पोसाक र सामग्री किनिरहेका थिए भने कोही नेपाली परिकारको स्वाद लिँदै सांगीतिक प्रस्तुतिमा रमाइरहेका देखिन्थे। व्यवसायीका लागि आफ्ना उत्पादन र सेवा चिनाउने अवसर बनेको मेला सहभागीका लागि भने परदेशमै घरदेशको झल्को अनुभव गर्ने माध्यम बन्यो।
सत्यको विजय, पारिवारिक मिलन र नयाँ उमंगको पर्व दसैँलाई सामूहिक रूपमा मनाउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएका छन्। व्यस्त दैनिकीबीच समुदायलाई एकै ठाउँमा भेला गराएर शुभकामना आदानप्रदान गर्ने, आपसी सम्बन्ध विस्तार गर्ने र स्थानीय उद्यमलाई प्रोत्साहन गर्ने प्रयासका रूपमा तीनदिने मेलाको सुरुवात गरिएको उनीहरूको भनाइ छ।
कुलेन्द्रको प्रस्तुति र स्थानीय कलाकारले थपे रौनक
मेलामा लोकप्रिय लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुति प्रमुख आकर्षण बनेको थियो। उहाँको प्रस्तुतिसँगै स्थानीय कलाकार र डिजेको संगीतले मेलाको वातावरणलाई थप उल्लासमय बनाएको थियो।
नेपाली गीतसंगीतमा रमाउँदै सहभागीहरूले दसैँको खुसी साटेका थिए। किनमेल, खानपान र मनोरञ्जन एउटै परिसरमा उपलब्ध हुँदा विभिन्न उमेर समूहका सहभागीले आ–आफ्नो रुचिअनुसार मेलाको आनन्द लिएका थिए।
संघसंस्थाका प्रतिनिधिको शुभकामना, निरन्तरतामा जोड
कार्यक्रममा greater austin nepali society, Greater Austin Chamber of Commerce, नेपाल–अमेरिका पत्रकार संघ (नेजा/NEAJA) का अध्यक्षलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उनीहरूले यस्ता मेलाले चाडपर्वको सांस्कृतिक महत्त्वलाई जीवित राख्नुका साथै महिला उद्यमी र साना व्यवसायलाई आफ्ना उत्पादन तथा सेवा समुदायसम्म पुर्याउन सहयोग गर्ने बताएका थिए। विविध समुदायबीच भेटघाट र सहकार्यको अवसर सिर्जना गर्ने भएकाले यस्ता आयोजनालाई आगामी वर्ष अझ व्यवस्थित र व्यापक बनाउँदै लैजानुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
पोसाकदेखि सौन्दर्य सामग्री र घरजग्गा परामर्शसम्म
खाना, बुटिक, सौन्दर्य सामग्री, मेहन्दी, पोसाक, एक्सेसरिज र होम डेकोरका स्टलले दर्शकलाई विविध विकल्प उपलब्ध गराएका थिए। घरजग्गासम्बन्धी जानकारी तथा परामर्श दिने स्टलसमेत रहेकाले मेला मनोरञ्जन र किनमेलसँगै उपयोगी सूचना आदानप्रदान गर्ने थलो पनि बनेको थियो।
स्टल सञ्चालकहरूले व्यापार राम्रो भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार मेलाले बिक्रीसँगै नयाँ ग्राहक भेट्ने, आफ्ना उत्पादनबारे प्रतिक्रिया लिने र व्यवसायको पहिचान विस्तार गर्ने अवसर दिएको थियो।
फुड स्टलमा भीड, नेपाली र भारतीय परिकारप्रति आकर्षण
मेलामा निम्तो किचन, गोर्खा बर्गर, याक एन्ड यती, इन्डिया गेट र lalison रेस्टुरेन्टलगायतका फुड स्टलमा दर्शकको आकर्षण देखिएको थियो। मःम, चटपटे, बर्गर तथा नेपाली र भारतीय स्वादका विभिन्न परिकारको स्वाद लिन सहभागीहरूको भीड लागेको थियो।
परिवारसँग किनमेल र सांगीतिक मनोरञ्जनपछि खानाको स्वाद लिनेहरूको उपस्थितिले फुड स्टलहरू व्यस्त बनेका थिए। व्यवसायीहरूले यस्ता मेलाले स्थानीय खाद्य व्यवसायको प्रवर्द्धन गर्नुका साथै नेपाली परिकारलाई नयाँ ग्राहकसम्म चिनाउन सहयोग पुर्याउने बताएका छन्।
गोर्खा बर्गरका दामोदर केसी : नयाँ व्यवसायलाई चिनाउने अवसर
गोर्खा बर्गरका दामोदर केसीले मेलामा अपेक्षाभन्दा राम्रो व्यापार भएको बताउनुभयो। उहाँले व्यापार तीन गुणा बढी भएको उल्लेख गर्दै नयाँ ग्राहकसँग परिचय गर्ने अवसरसमेत मिलेको बताउनुभयो। “धेरै नयाँ ग्राहकहरूसँग चिनजान हुने मौका मिल्यो,” केसीले भन्नुभयो।
भर्खरै व्यवसाय सुरु गरेका उद्यमीका लागि यस्ता मेला विशेष सहयोगी हुने उहाँको अनुभव छ। ग्राहकसँग प्रत्यक्ष भेटघाट गर्न, आफ्ना परिकार चखाउन र ब्रान्डको पहिचान विस्तार गर्न मेलाले महत्त्वपूर्ण अवसर दिएको उहाँले बताउनुभयो।
Lalison की सूर्या शाह : किनमेलपछि परिवारसँग खानाको आनन्द
ललिसा रेस्टुरेन्टकी सूर्या शाह (Happy and Healthy) ले मेलामा राम्रो प्रतिक्रिया पाएको बताउनुभयो। उहाँका अनुसार स्टलमा धेरै नयाँ ग्राहक आएका थिए र परिकारको स्वादबारे सकारात्मक प्रतिक्रिया दिएका थिए।
“मेलामा किनमेलपछि खानाको मज्जा नै बेग्लै हुन्छ। किनमेलले थकान लागेको बेला परिवारसँग बसेर मिठो खानाको स्वाद लिँदा दसैँको रमाइलो दोब्बर हुन्छ,” शाहले भन्नुभयो। ग्राहकको प्रशंसाले थप राम्रो सेवा दिन हौसला मिलेको उहाँले बताउनुभयो।
“किनमेल गरेर आउनुभएका ग्राहकहरूले हाम्रो परिकारको खुलेर प्रशंसा गर्नुभयो। यसले हामीलाई अझ राम्रो गर्ने हौसला दिएको छ। यस्ता मेलाले हाम्रो नेपाली खानाको स्वादलाई प्रवर्द्धन गर्न ठूलो मद्दत गर्छ,” उहाँले भन्नुभयो।
रियल्टर समीर थापा : घरजग्गाबारे प्रत्यक्ष संवाद गर्ने साझा थलो
मेलामा स्टल राख्नुभएका रियल्टर समीर थापाले चाडपर्वका अवसरमा आयोजना हुने यस्ता मेलाले घरजग्गा व्यवसायलाई समेत उपयोगी अवसर प्रदान गर्ने बताउनुभयो।v“यस्तो मेला पर्वको बेलामा हुनु एकदमै आवश्यक छ।”

© 2026 All right reserved to samajpress.com | Site By : Sobij