अस्टिन, टेक्सास — बडादसैँको अवसरमा अस्टिनस्थित निम्तो नेपाली किचनमा शुक्रबार, अक्टोबर १६ मा दसैँ विशेष सांगीतिक साँझ आयोजना हुने भएको छ। कार्यक्रममा लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुति र सर्जक विजय चन्द ‘दर्पण’को उपस्थिति रहनेछ।
साँझ ६ बजे सुरु हुने कार्यक्रम राति २ बजेसम्म चल्नेछ। आयोजकका अनुसार कार्यक्रममा प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ।
लोकदोहोरी क्षेत्रमा स्थापित गायक विश्वकर्मा ‘सालको पातको टपरी हुनी’, ‘डाँडै फुर्के सल्लो’, ‘रुमाल हल्लाई हल्लाई’ र ‘जिम्माल बाको आँगनीमा’लगायत लोकप्रिय गीतमार्फत श्रोतामाझ परिचित छन्।
सर्जक विजय चन्द ‘दर्पण’ ‘चौका दाउ’, ‘राजा रानी’ र ‘सुतली’लगायत लोकप्रिय गीतका गीतकार हुन्। आफ्ना शब्द सिर्जनामार्फत उनले नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका छन्।
विगत तिन बर्ष देखि सञ्चालनमा रहेको निम्तो नेपाली किचन मौलिक नेपाली खानाका साथै नेपाली सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने थलोका रूपमा अघि बढिरहेको छ। सञ्चालक राजेश देवकोटाका अनुसार नेपाली परिकार, गीतसंगीत र आत्मीय वातावरणमार्फत आगन्तुकलाई नेपालमै रहेको अनुभूति दिलाउने प्रयास गरिएको छ।
कार्यक्रम २२३७ ईस्ट रिभरसाइड ड्राइभ, सुइट १०१ए, अस्टिन, टेक्सास ७८७४१ स्थित निम्तो नेपाली किचनमा हुनेछ। नेपाली समुदायबीच भेटघाट, शुभकामना आदानप्रदान र गीतसंगीतसँगै दसैँको खुसी बाँड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको देवकोटाले जानकारी दिए। उनले अस्टिन, फ्लुगरभिल तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई परिवार र साथीभाइसहित सहभागी हुन आग्रह गरे।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij