काठमाडौं । नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सहमहामन्त्री तथा दुई कार्यकाल केन्द्रीय सदस्य रहेकी सिर्जना अधिकारीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन्।
अधिकारीले कांग्रेसको केन्द्रीय सदस्य महिला खुलातर्फ उम्मेदवारी प्रस्तुत गरेकी हुन्। उनले आफ्नो राजनीतिक अनुभव, लोकतान्त्रिक आन्दोलनमा गरेको संघर्ष तथा महिला अधिकार र सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि गर्दै आएको योगदानलाई आधार बनाएर पार्टीको केन्द्रीय नेतृत्वमा आफूलाई अघि सारेकी छन्।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी अधिकारी नेपाल विद्यार्थी संघमा दुई कार्यकाल केन्द्रीय सदस्य तथा केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीमा रहेकी थिइन्। २०६२/६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा उनी पटक–पटक पक्राउ परी जेलसमेत परेकी थिइन्। आन्दोलनका क्रममा घाइतेसमेत भएकी अधिकारीले विद्यार्थी आन्दोलनमार्फत लोकतन्त्र र राजनीतिक परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गरेकी छन्।
अधिकारी दुई पटक निर्वाचित महासमिति सदस्यसमेत हुन्। उनले संविधानसभाका दुवै निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवारका रूपमा समेत सहभागिता जनाएकी थिइन्।
राजनीतिसँगै अधिकारी महिला अधिकार, महिला समानता, महिला मैत्री संविधान तथा कानुन निर्माण, सामाजिक न्याय र सशक्तीकरणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन्।
वुमन एक्ट नामक संस्थामार्फत उनले महिला तथा सामाजिक क्षेत्रमा विभिन्न अभियान र कार्यक्रम सञ्चालन गर्दै आएकी छन्।
महिला अधिकार र समावेशी समाज निर्माणका क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएको उल्लेख गर्दै अधिकारीले आफ्नो राजनीतिक अनुभव र सामाजिक क्षेत्रको सक्रियतालाई अब पार्टी संगठन र नेतृत्व निर्माणमा थप प्रभावकारी रूपमा उपयोग गर्ने बताएकी छन्।
कांग्रेसको संगठनलाई थप सशक्त, नेतृत्वलाई समावेशी र पार्टीलाई जनतासँग अझ जोड्ने उद्देश्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अधिकारीको भनाइ छ। उनले आफ्नो अनुभव, प्रतिबद्धता र ऊर्जालाई नेपाली कांग्रेसको सुदृढ संगठन, समावेशी नेतृत्व र समृद्ध नेपालको अभियानमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij