![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
टेक्सास—
जर्जटाउनमा सञ्चालित नोभा डेन्टल स्टुडियोले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव तथा औपचारिक रिबन काट्ने कार्यक्रम सम्पन्न गरेको छ।
दन्त चिकित्सा क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव भएकी डा. नम्रता शर्माको नेतृत्वमा सञ्चालित दन्त उपचार केन्द्रको व्यवस्थापकीय जिम्मेवारी सञ्चालक बिनम आचार्यले सम्हाल्दै आएका छन्।
पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा जर्जटाउन वाणिज्य सङ्घका प्रतिनिधि, स्वास्थ्यकर्मी, सेवाग्राही, दन्त तथा स्वास्थ्य सामग्री आपूर्तिकर्ता र स्थानीय समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उपचार केन्द्रको एक वर्षको यात्रा, उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराइएको थियो।
आधुनिक प्रविधिसहितको दन्त उपचार केन्द्र करिब दुई हजार तीन सय वर्गफिट क्षेत्रफलमा फैलिएको उपचार केन्द्रमा प्रवेश तथा नाम दर्ता कक्ष, सेवाग्राही प्रतीक्षालय, Dental X-Ray कक्ष, उपचार कक्ष, चिकित्सकको कार्यालय, उपकरण निर्मलीकरण कक्ष र कर्मचारीका लागि छुट्टै विश्राम कक्षको व्यवस्था गरिएको छ।
यहाँ सामान्य Dental X-Ray देखि दाँत, जरा, बंगारा तथा आसपासका हड्डीको समग्र अवस्था देखाउने ३६० डिग्री Dental X-Ray सम्मको सुविधा उपलब्ध छ। साथै, उपचारमा प्रयोग हुने उपकरणलाई जीवाणुरहित बनाउने छुट्टै व्यवस्थासहित दन्त उपचारका लागि आवश्यक आधुनिक तथा अत्याधुनिक उपकरणहरू जडान गरिएका छन्।
हाल तीनवटा उपचार कुर्सीबाट सेवा प्रदान भइरहेको छ। उपचार केन्द्रको संरचना भविष्यमा छवटासम्म उपचार कुर्सी सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको सञ्चालक आचार्यले जानकारी दिए। सेवाग्राहीको सङ्ख्या र सेवाको माग बढेसँगै क्षमता तथा जनशक्ति विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई सेवा नोभा डेन्टल स्टुडियोले दाँतको विस्तृत परीक्षण, Dental X-Ray, सामान्य तथा गहिरो सफाइ, दाँत भर्ने, बुद्धिबंगारा निकाल्ने, दाँत सेतो बनाउने, दाँतमा Crown राख्ने, दाँतमा Bridge बनाउने, Root Canal गर्ने, Dental Implant सम्बन्धी परामर्श तथा उपचार र पूरा वा आंशिक नक्कली दाँत राख्नेलगायत सेवा प्रदान गर्दै आएको छ।
आकस्मिक समस्या भएका बिरामीलाई पूर्वनिर्धारित समयबिनै परीक्षण गर्ने र सम्भव भएसम्म सोही दिन उपचार गर्ने व्यवस्था पनि रहेको छ। विशेष प्रकृतिको उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित विशेषज्ञ चिकित्सकसमक्ष पठाइने उपचार केन्द्रले जनाएको छ।
यहाँ बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सम्पूर्ण परिवारका सदस्यले सेवा लिन सक्छन्। उपचार केन्द्रबाट ९३ वर्षसम्मका ज्येष्ठ नागरिकले समेत उपचार सेवा लिइसकेको आचार्यले जानकारी दिए। बिरामीको उमेर, स्वास्थ्य अवस्था र दाँतको समस्याअनुसार व्यक्तिगत उपचार योजना तयार गरिने बताइएको छ।
नेपाली समुदायलाई विशेष सहजता सबै समुदायलाई सेवा दिँदै आएको उपचार केन्द्रले नेपाली सेवाग्राहीको भाषा, आर्थिक अवस्था र दन्त स्वास्थ्यसम्बन्धी आवश्यकतालाई पनि प्राथमिकता दिएको छ।
आचार्यका अनुसार उपचार केन्द्रमा आउने कुल बिरामीमध्ये करिब २० प्रतिशत नेपाली समुदायका छन्। अधिकांश नेपाली सेवाग्राही परिवार, साथीभाइ तथा यसअघि सेवा लिइसकेका व्यक्तिको सिफारिसबाट आउने गरेका छन्।
विशेषगरी अंग्रेजी भाषामा सहज नभएका नेपाली आमाबुबा तथा ज्येष्ठ नागरिकले आफ्नै भाषामा समस्या बताउन पाउँदा उपचार प्रक्रिया सहज हुने गरेको छ। भाषा वा दन्त बीमासम्बन्धी जानकारीको अभावका कारण नेपाली समुदायका कोही पनि आवश्यक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य रहेको आचार्यले बताए।
“अंग्रेजीमा आफ्नो समस्या स्पष्टसँग भन्न कठिन हुने नेपाली आमाबुबाले आफ्नै भाषामा कुरा गर्न पाउँदा सहज महसुस गर्नुहुन्छ,” उनले भने, “उहाँहरूको समस्या बुझ्न र आवश्यक उपचारबारे स्पष्ट जानकारी दिन हामीलाई पनि सजिलो हुन्छ।”
समस्या गम्भीर हुनुअघि परीक्षण गराउन आग्रह नेपाली समुदायमा दाँत धेरै दुखेपछि मात्र चिकित्सककहाँ जाने प्रवृत्ति अझै देखिने गरेको उपचार केन्द्रको अनुभव छ। समयमै नियमित परीक्षण गराउँदा दाँतमा प्वाल पर्ने, गिजामा समस्या आउने वा सङ्क्रमण हुनेजस्ता समस्या प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिने डा. शर्माले बताइन्।
सामान्य रूपमा दाँत भरेर समाधान गर्न सकिने समस्यालाई लामो समयसम्म बेवास्ता गर्दा पछि Root Canal गर्नुपर्ने, दाँतमा Crown राख्नुपर्ने वा दाँत नै निकाल्नुपर्ने अवस्था आउन सक्ने उनले जानकारी दिइन्। नियमित परीक्षण र सफाइले भविष्यमा हुन सक्ने जटिल तथा महँगो उपचारबाट जोगिन सहयोग पुग्ने उनको भनाइ छ।
कतिपय नेपाली उपचार सस्तो हुने अपेक्षामा नेपाल जाने योजना बनाउने गरेको उल्लेख गर्दै त्यसअघि अमेरिकामै कम्तीमा दाँतको परीक्षण र X-Ray गराएर वास्तविक समस्या पहिचान गर्न सुझाव दिइएको छ। त्यसबाट उपचार कति आवश्यक छ, कति समय पर्खन सकिन्छ र तत्काल उपचार गर्नुपर्ने अवस्था छ वा छैन भन्ने बुझ्न सहयोग पुग्ने बताइएको छ।
बीमा नभएकालाई किफायती सुविधा दन्त बीमा नभएका कारण परीक्षण वा उपचार नगराउने व्यक्तिलाई ध्यानमा राख्दै उपचार केन्द्रले किफायती विकल्प उपलब्ध गराएको छ। नयाँ बिरामीका लागि ८९ अमेरिकी डलरमा दाँतको परीक्षण, Dental X-Ray र सामान्य सफाइ समावेश गरिएको विशेष सुविधा छ।
बीमा नभएका बिरामीका लागि ५० अमेरिकी डलरमा आकस्मिक दन्त परीक्षण गर्ने सुविधा पनि उपलब्ध रहेको आचार्यले बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij