२०८३ भाद्र ११ बिहिबार

Aug 27 2026 Thursday

२०८३ भाद्र ११ बिहिबार

अस्टिनमा पनि पुग्यो चौधरी फार्मको सेवा

अस्टिनमा पनि पुग्यो चौधरी फार्मको सेवा

अस्टिन । टेक्ससको ड्यालस फोर्टवर्थबाट नेपाली समुदायलाई लक्षित गर्दै कृषि तथा मासुजन्य उत्पादन उपलब्ध गराउँदै आएको चौधरी फार्मले अस्टिनमा पनि आफ्नो सेवा सुरु गरेको छ। अस्टिन र आसपासको क्षेत्रमा नेपालीको संख्या बढ्दै गएसँगै फार्मले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

फार्मका सञ्चालकमध्येका अनिल पाण्डेका अनुसार अस्टिनमा बसोबास गर्ने नेपालीहरूबाट लामो समयदेखि चौधरी फार्मको सेवा यहाँ पनि उपलब्ध गराउन आग्रह हुँदै आएको थियो। समुदायको यही मागलाई सम्बोधन गर्दै अस्टिन शाखा सञ्चालनमा ल्याइएको उनले बताए।

फ्लोरेन्सस्थित 7035 CR-211, Florence, Texas 76527 मा रहेको नयाँ शाखाबाट ताजा खसी र कुखुराको मासु, अण्डालगायत विभिन्न कृषि उत्पादन उपलब्ध गराइनेछ। ड्यालससम्म पुगेर यस्ता सामग्री खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुने भएपछि अस्टिन क्षेत्रका नेपाली उपभोक्ताका लागि नयाँ शाखा थप सहज हुने अपेक्षा गरिएको छ।

शाखा सञ्चालनको अवसरमा बुधबार आयोजित कार्यक्रममा अस्टिन क्षेत्रका नेपाली व्यवसायी, समाजसेवी तथा स्थानीय बासिन्दाको सहभागिता थियो। सहभागीहरूले फार्मको अवलोकन गर्दै उपलब्ध उत्पादन र सेवाबारे जानकारी लिएका थिए। स्थानीयमै ताजा मासु तथा अन्य कृषि उत्पादन पाउने भएपछि सहभागीहरूले खुशी व्यक्त गरेका थिए।

बिक्रम चौधरीले सन् २०२० मा स्थापना गरेको चौधरी फार्मले २०२२ देखि ड्यालस–फोर्टवर्थ क्षेत्रमा व्यवसायिक सेवा दिँदै आएको छ। नेपाली समुदायबीच आफ्नो बजार र विश्वास विस्तार गरेपछि फार्मले दोस्रो क्षेत्रमा प्रवेश गरेको हो।

सञ्चालक पाण्डेका अनुसार अस्टिनमा ग्राहकको प्रतिक्रिया र आवश्यकतालाई आधार बनाएर आगामी दिनमा कृषि तथा पशुपालनसँग सम्बन्धित थप उत्पादन र सेवा विस्तार गर्ने तयारी छ।

अस्टिन शाखाबाट सेवा सुरु भएसँगै चौधरी फार्मको पहुँच टेक्ससको अर्को प्रमुख नेपाली बस्तीमा पुगेको छ। स्थानीय नेपाली समुदायका लागि यो विस्तारलाई व्यवसायिक सेवाको पहुँच बढाउने कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij