काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीयस्तरमा पूर्वाधार विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य भई गाउँमै रोजगारीका अवसर सिर्जना हुने बताउनुभएको छ । बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बाइसे-चौबिसे राज्यकालदेखिको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भैरवस्थान क्षेत्रमा पर्यटन, कृषि उपज र रोजगारीको प्रचुर सम्भावना रहेको औँल्याउँदै उहाँले सो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तथा बाह्य पर्यटक संख्या उल्लेख्य रूपमा वृद्धि भएको चर्चा गर्नुहुँदै ढकालले भन्नुभयो, ‘मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र पनि बागलुङका भैरवस्थानलगायतका पर्यटकीयस्थलमा आकर्षित गर्न सकिए यो क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्नेछ ।’ पर्यटकलाई कम्तीमा एक रात सो क्षेत्रमा अड्याउन गुणस्तरीय होटल, रिसोर्ट तथा होमस्टे जस्ता पूर्वाधार विस्तारमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । साथै केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीयस्तरबाट सहयोग प्राप्त भए छोटो समयमै सकारात्मक नतिजा निकाल्न सकिने पनि ढकालले बताउनुभयो ।
नेपालभित्रै स्वदेशी पुँजी परिचालन गरी ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले महासंघको ढोरपाटन बैठकको निर्णयबमोजिम १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ नामक लगानी कम्पनी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उहाँले पर्यटन, जलविद्युत्, उत्पादन र प्रविधि क्षेत्रमा लगानी भित्र्याउन कम्पनीले काम सुरु गरिसकेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij