अष्टिन, टेक्सास।
ग्रेटर अष्टिन नेपाली सोसाइटी (GANS) द्वारा नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको समर स्कुल कार्यक्रम उत्साहजनक सहभागितासहित सञ्चालन भइरहेको छ। करिब तीनदेखि चार दिनको छोटो तयारीमा सुरु गरिएको कार्यक्रममा ७५ जना विद्यार्थीहरूको सहभागिता रहेको छ। ग्रेटर अष्टिन क्षेत्रमा नेपाली भाषा, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमलाई समुदायबाट उल्लेखनीय साथ, सहयोग र सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
संस्थाका अध्यक्ष पदम ठाकुराठीका अनुसार विदेशी भूमिमा हुर्किरहेका नेपाली मूलका बालबालिकालाई आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोड्ने उद्देश्यले समर स्कुल सञ्चालन गरिएको हो। कार्यक्रममा नेपाली भाषा शिक्षासँगै नृत्य, चित्रकला, नेपाली संस्कृति, सामाजिक मूल्य–मान्यता तथा व्यक्तित्व विकाससम्बन्धी विविध गतिविधिहरू समावेश गरिएका छन्। ग्रेटर अष्टिनको इतिहासमै यति ठूलो संख्यामा विद्यार्थी, अभिभावक, स्वयंसेवक तथा समुदायको सहभागितासहित सञ्चालन भएको कार्यक्रमले नेपाली भाषा र संस्कृतिप्रति नयाँ पुस्तामा सकारात्मक उत्साह जगाएको उहाँले बताउनुभयो।
समर स्कुल कार्यक्रमको संयोजन संस्थाकी उपाध्यक्ष सपना रावतले गर्नुभएको हो भने कार्यकारी सदस्य अलिजा थापा पौडेलले व्यवस्थापन तथा सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमलाई सफल बनाउन उहाँहरूका साथै कार्यसमितिका पदाधिकारी, सदस्यहरू, स्वयंसेवकहरू तथा शिक्षक–शिक्षिकाहरूले महत्वपूर्ण योगदान पुर्याएका छन्।
कार्यक्रमको शुभारम्भ पशुपति मन्दिर परिषद्का पुजारी गुरु तथा कन्याहरूको स्वागतसँगै गरिएको थियो। पूजा–पाठ सम्पन्न भएपछि औपचारिक रूपमा कक्षा सञ्चालन गरिएको थियो। धार्मिक तथा सांस्कृतिक वातावरणमा कार्यक्रम प्रारम्भ भएकाले बालबालिकाहरूले नेपाली संस्कार, संस्कृति र परम्परासँग थप नजिकिने अवसर प्राप्त गरेका छन्। कार्यक्रममा सहभागी अभिभावकहरूले समेत यस्तो पहलप्रति खुशी व्यक्त गर्दै विदेशी भूमिमा हुर्किरहेका आफ्ना बालबालिकालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्न समर स्कुल प्रभावकारी माध्यम बनेको बताएका छन्।
समर स्कुलमा नेपाली भाषा शिक्षासँगै नृत्य, चित्रकला तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन भइरहेका छन्। बालबालिकाहरूलाई नेपाली भाषा, संस्कृति, परम्परा तथा सामाजिक मूल्य–मान्यताबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन भइरहेको कार्यक्रमप्रति अभिभावकहरू समेत उत्साहित देखिएका छन्।
सहभागी बालबालिकाहरूका लागि निःशुल्क नास्ताको व्यवस्था समेत गरिएको छ। यस हप्ताको नास्ताको व्यवस्था सूर्य साहले गर्नुभएको थियो। आगामी हप्ताहरूमा पनि विभिन्न समुदायिक व्यक्तित्व तथा सहयोगीहरूले निःशुल्क नास्ता उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन्। यसका लागि ग्रेटर अष्टिन नेपाली सोसाइटीसँग आवश्यक समन्वय भइसकेको र सहयोग सुनिश्चित भइसकेको जनाइएको छ।
छोटो तयारी अवधिमा पनि संस्थामाथि विश्वास गर्दै आफ्ना नानीबाबुहरूलाई समर स्कुलमा सहभागी गराउनुहुने अभिभावकहरूको योगदानलाई आयोजकहरूले विशेष रूपमा प्रशंसा गरेका छन्। कक्षा सञ्चालन अवधिभर धैर्यपूर्वक साथ दिँदै आफ्ना बालबालिकाको सिकाइ यात्रामा सहयोग पुर्याउने अभिभावकहरूको भूमिकाले कार्यक्रमलाई थप प्रभावकारी बनाएको विश्वास गरिएको छ।
अन्त्यमा अध्यक्ष पदम ठाकुराठीले समर स्कुल कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक, सामाजिक तथा नैतिक रूपमा सहयोग पुर्याउने NRNA USA, विभिन्न संघ–संस्था, समुदायका दाताहरू, बाह्य दाताहरू, शुभेच्छुकहरू, वर्तमान तथा निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, कार्यक्रम संयोजक सपना रावत, कार्यकारी सदस्य अलिजा थापा पौडेल, स्वयंसेवकहरू, शिक्षक–शिक्षिकाहरू, अभिभावकहरू, पशुपति मन्दिर परिषद् परिवार, यस हप्ताको निःशुल्क नास्ताको व्यवस्था गरिदिनुहुने सूर्य साह, आगामी हप्ताहरूमा निःशुल्क नास्ताको सहयोग गर्ने प्रतिबद्धता जनाउनुहुने सहयोगीहरू, कार्यक्रमको प्रचार–प्रसारमा सहयोग गर्ने समाज प्रेस तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।
उहाँले अष्टिन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीभाषी समुदायप्रति विशेष कृतज्ञता व्यक्त गर्दै समुदायको एकता, विश्वास, सहयोग र सद्भावकै कारण यस्ता कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्न सम्भव भएको बताउनुभयो। आगामी दिनहरूमा पनि नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र व्यापक रूपमा निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij