२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चालक सुरक्षित

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चालक सुरक्षित

बोइस । अमेरिकाको आइडाहो राज्यस्थित माउन्टेन होम वायुसेना केन्द्रमा आयोजित हवाई प्रदर्शनका क्रममा आइतबार दुई सैन्य विमान आपसमा ठोक्किएका छन् । दुर्घटनापछि विमानमा रहेका चारै चालकले प्यारासुटमार्फत सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी नौसेनाका अनुसार, वासिङ्टन राज्यको व्हिड्बी टापुस्थित इलेक्ट्रोनिक आक्रमण स्क्वाड्रनसँग सम्बन्धित दुईवटा युद्धक विमान हवाई प्रदर्शन गरिरहेका बेला आकासमै एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनापछि वायुसेना केन्द्रलाई तत्काल बन्द गरिएको थियो भने बाँकी हवाई प्रदर्शन कार्यक्रम रद्द गरिएको जनाइएको छ ।
प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियोहरूमा विमानहरू आकासमा एकअर्कासँग ठोक्किएपछि चारवटा प्यारासुट खुलेको देखिन्छ । त्यसपछि दुवै विमान जमिनतर्फ खस्दै ठूलो आगोको गोलाजस्तो विस्फोट भएको थियो ।

अधिकारीहरूका अनुसार, चारै चालकको अवस्था स्थिर रहेको छ र अन्य कुनै मानवीय क्षति भएको छैन ।घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । अमेरिकी नौसेनाले दुर्घटनाबारे विस्तृत छानबिन भइरहेको जनाएको छ ।

हवाई प्रदर्शन आयोजना गर्न सहयोग गरेको संस्था ‘सिल्भर विङ्स अफ आइडाहो’ की विपणन निर्देशक किम साइक्सले “सबैजना सुरक्षित हुनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो” भन्दै राहत व्यक्त गरेका छन् ।

एक प्रत्यक्षदर्शी शेन ओग्डेनले आफूले भिडियो खिचिरहेका बेला विमानहरू एकअर्काको अत्यन्त नजिक आएको र त्यसपछि ठोक्किएको बताएका छन् । उनका अनुसार, चालकहरू बाहिर निस्केपछि विमानहरू सँगै जमिनमा खसेर विस्फोट भएका थिए ।

दुर्घटनामा संलग्न युद्धक विमानहरू अत्याधुनिक इलेक्ट्रोनिक युद्ध प्रणालीयुक्त विशेष सैन्य विमान मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij