२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

सिमानामा खट्नु पर्ने सेना सुकुम्बासी बस्तीतिर देखापरेको भन्दै हर्क साम्पाङको आपत्ति

सिमानामा खट्नु पर्ने सेना सुकुम्बासी बस्तीतिर देखापरेको भन्दै हर्क साम्पाङको आपत्ति

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन सरकार असफल भइसकेको बताएका छन् । सुकुम्बासी बस्ती हटाएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङले सामाजिक संजालमार्फत सरकारको कदमको विरोध गरेका हुन् ।

उनले भनेका छन्, ‘रास्वपा बालेन सरकार असफल भैसकेको छ । अब अवसान मात्रै बाँकी छ । त्यो सरकार जसले गरीबको गाँस खोस्छ र बास भत्काइदिन्छ त्यो असफल सरकार हो । यो तस्बिरले हजारौँ शब्दहरु बोलिरहेका छन् । गरीबलाई लात हान्ने प्रवृतिको कुनै पनि हालतमा पुष्टि गर्न सकिन्न चाहे पत्रकार किनून् या सामाजिक संजाल भरि गरीब र गरीबलाई बचाउन खोज्नेलाई गाली गरून् यो अमानवीय कृत्यलाई पुष्टि गर्न सकिन्न किमार्थ ।’

उनले गरीबको घाउमा मलहम लगाउन नसक्ने हात र गरीबको पीडा बोल्न नसक्ने ओठको केही काम नभएको बताएका छन् । उनले गरीबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘करोडौँ अर्बौँ भ्रष्टाचार गरी गरी महल बनाएर मस्त निदाउनेहरुलाई मेरो चुनौती छ । गरीबलाई सास फेर्न सक्ने वातावरण बनाएर देखाऊ । यो गरीबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक सरकार हुँदै होइन । चुप चाप घण्टीमा छाप भन्दै भोट माग्ने र दिनेहरु अब चुपचाप सामान बोकी टाप दिन पर्दाको विजोगलाई म कुनै पनि हालतमा अनुमोदन गर्न सक्दिन । गरीबको दुःख नदेख्ने आँखा ! गरीबको घाउमा मलहम लगाउन नसक्ने हात र गरीबको पीडा बोल्न नसक्ने ओठको केही काम छैन । सबैलाई यो बेला सरकारको जमेर विरोध गर्न आह्वान गर्दछु । हामीले बनाउन चाहेको देश के यस्तै हो त ? नेता महलमा अनि जनता सडकमा ? आज यी प्रश्न म सारा नेपालीलाई तेर्साउन चाहन्छु । मलाई उत्तर दिनुहोस् ।’

उनले सिमानामा खट्नुपर्ने सेना सुकुम्बासी बस्तीमा देखापरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘नेपाली सेना किन बाटोमा निस्केको ? सदनले अनुमोदन गरेर निस्केको हो ? कि यो शासन सैनिक शासन हो ? सिमानामा खट्नु पर्ने सेना सुकुम्बासी बस्तीतिर देखापर्नु भनेको आपत्तिजनक कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij