२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नेजा डे मा पत्रकारिता, लगानी र डायस्पोराका विषयमा गहन छलफल

नेजा डे मा पत्रकारिता, लगानी र डायस्पोराका विषयमा गहन छलफल

सामना देवकोटा, ड्यालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १९औँ वार्षिकोत्सव टेक्सासको ड्यालसमा विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ। अप्रिल १८ र १९ गते आयोजना गरिएको ‘नेजा डे २०२६’ अन्तर्गत ‘नेजा कन्क्लेभ २०२६’, नेपालमा प्रवासी लगानीसम्बन्धी अन्तरक्रिया तथा रक्तदान कार्यक्रममार्फत वार्षिकोत्सव मनाइएको हो।

‘कनेक्ट, इन्फर्म, युनाइट’ (Connect, Inform, Unite) भन्ने मूल नारासहित आयोजित कन्क्लेभले पत्रकारिता, समुदाय, लगानी र डायस्पोराका बहुआयामिक विषयहरूलाई एउटै मञ्चमा ल्याउँदै गहन बहसको वातावरण सिर्जना गरेको थियो। कार्यक्रममा अमेरिकाभरका नेपाली पत्रकार, सञ्चार विज्ञ, सामुदायिक अगुवा, कूटनीतिक प्रतिनिधि तथा विभिन्न क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कन्क्लेभलाई विभिन्न चरणमा विभाजन गरी संरचित ढंगले छलफल सञ्चालन गरिएको थियो। पहिलो सत्र ‘अमेरिकामा विविधतायुक्त समुदायको शक्ति’ विषयमा केन्द्रित थियो। यस सत्रमा स्थानीय पत्रिका The Rambler  का प्रकाशक जोन स्टार्कि, सञ्चार विज्ञ रोबर्ट वोलर, टेक्सास (ह्युस्टन) क्षेत्रकी व्यावसायिक पत्रकारिता समाजकी संयोजक रुथ नसरुल्ला,The Texas Tribune का सम्पादक निक गार्सिया तथा अस्टिन लिउटरले विविधता, समावेशिता र आप्रवासी समुदायसँग मिडियाको सम्बन्धबारे आफ्ना धारणा राखेका थिए। वक्ताहरूले विविधतायुक्त समाजमा सञ्चारमाध्यमको भूमिका अझ जिम्मेवार र समावेशी हुनुपर्नेमा जोड दिएका थिए।

दोस्रो सत्र ‘सञ्चारमाध्यममा विविधता र समुदायका मुद्दा’ तथा ‘विश्व सञ्चार जगतमा नेपालको उपस्थिति, प्रतिनिधित्व र वैश्विक दृष्टिकोण’ विषयमा केन्द्रित थियो। यस सत्रमा प्रकाश आचार्य, यशोदा तिम्सिना, प्रमोद आचार्य, टंक ढकाल र राजन कुइँकेलले नेपालको अन्तर्राष्ट्रिय छवि, नेपाली पत्रकारिताको विश्वव्यापी पहुँच तथा डायस्पोरामा मिडियाको प्रभावबारे विश्लेषण प्रस्तुत गरेका थिए।

तेस्रो तथा अन्तिम सत्र ‘डायस्पोरामा सामुदायिक सञ्चार व्यवस्थापन’ विषयमा केन्द्रित रह्यो, जहाँ प्रोफेसर इन्द्रजीत सलुजा तथा अनुसन्धानात्मक पत्रकार मुजीब काजीले प्रवासमा सञ्चालित मिडियाका चुनौतीहरू—आर्थिक दिगोपन, विश्वसनीयता, स्रोत व्यवस्थापन तथा दर्शकसँगको सम्बन्ध—बारे गहन अनुभव आदानप्रदान गरेका थिए।

यसैक्रममा नेजाकी कोषाध्यक्ष झरना अधिकारीको संयोजनमा “कम्युनिटी डेभलपमेन्ट इन जर्नालिजम” विषयमा विशेष प्यानल छलफल पनि सम्पन्न भएको थियो। उक्त सत्रमा पत्रकारितालाई कसरी व्यावसायिक र दिगो बनाउन सकिन्छ भन्ने सन्दर्भमा आम्दानीका स्रोतहरू, विज्ञापन तथा प्रायोजनको विस्तार, डिजिटल प्लेटफर्ममार्फत नयाँ अवसरहरू तथा मिडियाको आत्मनिर्भरता सम्बन्धी रणनीतिहरूमा गहन बहस गरिएको थियो। सहभागीहरूले पत्रकारितालाई केवल सेवामूलक मात्र नभई दीर्घकालीन रूपमा दिगो र व्यावसायिक बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमको दोस्रो दिन सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। ब्लड डोनर्स अमेरिका टेक्सास, युथ मेडिकल अलायन्स तथा कार्टर ब्लड केयरको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो।

सोही दिन ‘नेपालमा प्रवासी लगानी’ विषयमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो, जसमा नेपाली व्यवसायी, सञ्चारकर्मी तथा कूटनीतिक प्रतिनिधिहरूबीच खुला संवाद भएको थियो। कार्यक्रममा नेपालमा लगानीका सम्भावना, नीतिगत चुनौतीहरू तथा सुधारका उपायहरूबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी व्यवसायीहरूले विदेशी नागरिकता लिएका नेपालीहरूलाई सम्पत्तिको अधिकार सुनिश्चित गर्नुपर्ने, बैंकिङ प्रक्रिया सरल बनाउनुपर्ने तथा प्रशासनिक जटिलता घटाउनुपर्ने आवश्यकता औंल्याएका थिए।कार्यक्रममा कन्सुलेट जनरल सुरेश अधिकारी तथा कार्यवाहक राजदूत शरदराज आरणले प्रवासी नेपालीहरूको लगानीलाई सहज बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेजाका अध्यक्ष सुरज भण्डारीले संस्थाको १९औँ वार्षिकोत्सवलाई परम्परागत शैलीभन्दा फरक ढंगले आयोजना गरिएको उल्लेख गर्दै यसले पत्रकारहरूबीच एकता, सहकार्य तथा पेशागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम संयोजक ओम आचार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहभागी, प्रायोजक, स्वयंसेवक तथा साझेदार संस्थाहरूलाई धन्यवाद दिँदै विभिन्न राज्यबाट भएको व्यापक सहभागिताले कार्यक्रमलाई ऐतिहासिक बनाएको बताए ।

‘नेजा डे २०२६’ तथा ‘नेजा कन्क्लेभ’ले पत्रकारिता, समुदाय र कूटनीतिक क्षेत्रबीच सहकार्यको नयाँ आयाम सिर्जना गरेको छ। यस कार्यक्रमले नेपाली डायस्पोरा पत्रकारितालाई अझ सशक्त, जिम्मेवार र दिगो बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूको विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij