टेक्सस । स्वास्थ्यप्रद जीवनशैली प्रवर्द्धन तथा सामुदायिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले इम्प्याक्ट नेपालले ५ किलोमिटर वाक/रन कार्यक्रम आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार उक्त कार्यक्रम आगामी अप्रिल १९ तारिख आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम अमेरिकास्थित ब्रुशी क्रिक लेक पार्कमा आयोजना गरिनेछ।
स्वास्थ्य, फिटनेस र सामाजिक एकताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा सबै उमेर समूहका सहभागीहरूलाई खुला रूपमा सहभागी हुन आह्वान गरिएको छ। आयोजक संस्थाले नियमित व्यायाम, स्वस्थ जीवनशैली र सामुदायिक सम्बन्ध सुदृढ बनाउन यस्ता गतिविधि महत्वपूर्ण हुने जनाएको छ।
कार्यक्रममा सहभागीहरूले प्रकृतिसँग नजिक रहँदै हिँड्ने तथा दौडने अवसर प्राप्त गर्नेछन् भने नेपाली समुदायबीच आपसी भेटघाट र सहकार्यलाई पनि थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
इम्प्याक्ट नेपालले यस प्रकारका सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको बताउँदै समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ सफल बनाउने विश्वास व्यक्त गरेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij