२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन महानगरले प्रसुती गृहलाई दुई करोड अनुदान दिने

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन महानगरले प्रसुती गृहलाई दुई करोड अनुदान दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबिच सहकार्य सम्झौता गरेको छ ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा कापमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीबिच अनुदान सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताबमोजिम अस्पतालबाट उत्पादित हानिकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उत्पादित हानिकारक फोहरको पनि यही प्लान्टबाट व्यवस्थापन हुनेछ । सम्झौताअनुसार कामपाले प्रदान गर्ने अनुदान रकम अस्पतालले उपकरण खरिद र फोहर व्यवस्थापनस्थलमा ट्रस निर्माणकार्यका लागि खर्च गर्न पाउने बताइएको छ । उक्त सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य हुनेछ ।

सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले, काठमाडौँमा हानिकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डबमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनुपर्ने अवस्था रहेको बताइन् । यो सम्झौताबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij