अमेरिकाको टेक्सास राज्यस्थित अस्टिनमा नेपाली हास्य–व्यंग्य कार्यक्रम उत्साहका साथ सम्पन्न भएको छ। “हाँस्छ अमेरिका भोलुम १” शीर्षकको कार्यक्रमअन्तर्गत अमेरिका भ्रमणमा रहेका चर्चित नेपाली हास्य कलाकारहरूले शनिबार अस्टिन आसपास बसोबास गर्ने नेपाली समुदायलाई मनोरञ्जन प्रदान गरेका हुन्। कार्यक्रम अस्टिन नजिकैको फ्लुगरभिल (Pflugerville) मा आयोजना गरिएको थियो।

कार्यक्रममा कलाकारहरू कैलास कार्की, सुमन कार्की, सुमन कोईराला, मेक्सम गौडेल र भरतमणी पौडेलले विविध हास्य प्रस्तुतिमार्फत दर्शकलाई लामो समयसम्म हँसाएका थिए। उपस्थित नेपाली समुदायले कलाकारहरूको प्रस्तुतीलाई निकै उत्साहका साथ स्वागत गरेका थिए।
विशेषगरी कैलास कार्कीले प्रस्तुत गरेको ‘माग्ने’ र ‘जड्याहा’ पात्र, मेक्सम गौडेल र सुमन कार्कीले महिला भेषमा दिएको अभिनय तथा सुमन कोईराला र भरतमणी पौडेलको ‘बाबु–छोरा’को प्रस्तुतीले दर्शकको मन जितेको थियो।

कलाकारहरूले अमेरिकामा रहेका नेपालीहरूको संघर्ष, यहाँको जनजीवन र जीवनशैलीका साथै नेपालको समसामयिक राजनीतिक अवस्थामाथि व्यंग्य गर्दै प्रस्तुती दिएका थिए। उनीहरूले नेपाली समाजका विभिन्न पक्षलाई समेटेर बनाइने हास्यले दर्शकलाई मनोरञ्जनका साथै सोच्न पनि प्रेरित गर्ने प्रयास गरेका थिए।
स्ट्याण्ड–अप कमेडीमार्फत लोकप्रियता कमाउँदै गएका यी कलाकारहरू “हाँस्छ अमेरिका भोलुम १” कार्यक्रम लिएर अमेरिकाका विभिन्न शहरमा पुगेर नेपाली समुदायलाई मनोरञ्जन प्रदान गरिरहेका छन्। उनीहरूको प्रस्तुतीमा प्रायः राजनीतिक व्यक्तित्वका शैली, बोली र व्यवहारबीचको अन्तरलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिने भएकाले दर्शकले विशेष रुचि लिने गरेका छन्।

कार्यक्रमको आयोजना नमो नमस्ते इन्टरटेनमेन्ट, 8848 मिडिया हाउस र निम्तो किचनले संयुक्त रूपमा गरेका थिए। सो अवसरमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार तथा कला साधक गणेश उप्रेतीलाई हालै प्रदर्शनमा आएको लोकप्रिय चलचित्र “झरी पछिको इन्द्रेणी” मा दिएको योगदानको कदर गर्दै प्रशंसा–पत्र प्रदान गरिएको थियो। कार्यक्रमको मिडिया पाटर्नरका रुपमा समाजप्रेस डटकम रहेको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij