२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

२०८३ कार्तिक १९ बुधबार

‘गफ दिने काम नदिने’ उम्मेदवारसँग दिक्क मोरङ २ का मतदाता

‘गफ दिने काम नदिने’ उम्मेदवारसँग दिक्क मोरङ २ का मतदाता

मोरङ । देशभरका नेकपा एमाले समर्थकहरुले झापा ५ मा रास्वपाबाट उम्मेदवार बनेका बालेन्द्र साहलाई काठमाडौं महानगरका मतदाताको मानहानि गरेको आरोप लगाउँदै आएका छन् । काठमाडौंको मेयरका रुपमा कार्यकाल बाँकी छदै संसदीय चुनाव लड्नुलाई एमालेले रास्वपाविरुद्ध प्रचारको मुख्य तर्क नै बनाएको छ । एमाले नेताहरुको भाषणदेखि कार्यकर्ताको सोसल मिडिया पोष्टसम्म बालेनलाई मेयरका रुपमा पूरा कार्यकाल काम नगर्ने, अस्थिर र अवसरवादीको ट्याग भिराइएको छ । तर तिनै एमाले कार्यकर्ताहरु भने रंगेलीका दिलिप बगडियाको विषयमा मुख छोपेर हिड्नुपरेको छ । किनकी मेयरको कार्यकाल नसकि सांसद बन्न हाम फाल्ने मध्येमा एक उनी पनि हुन् ।

२०७४ सालअघिसम्म नेपाली कांग्रेसका साधारण कार्यकर्ता थिए, दिलिप बगडिया । २०७४ मा नेकपा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवार भए । मेयर भएपछि नियमित कामपनि सही ढंगले गर्नसकेनन तर प्रचार भने भरपुर गरे । संघ र प्रदेशको बजेट योजनाबाट भएका कामको फोटो हालेर आफैले गरेको प्रचार गराए । अरु त अरु राष्ट्रिय गौरवका हुलाकी राजमार्गसमेत आफैले बनाएको दावी गर्न पछि परेनन् । जबकी एउटा मेयरले राष्ट्रिय राजमार्ग बनाउदैन भन्ने सबै सचेत मतदातालाई जानकारी छ ।

पीच हुन नसकेको रंगेलीको बाटो ।

माओवादीमा अवसरत पाउन्जेल माओवादी भए, अघिल्लो स्थानीय निर्वाचनमा फेरी एमाले बने । रंगेली क्षेत्रमा व्यापार व्यवसाय र इट्टाभट्टामा बगडियाको लगानी राम्रै छ । नगरका योजना कार्यान्वयन गराउँदा आफ्नै उद्योगका इटा बेचे । सरकारी कामको ठेक्का र जिम्मा आफ्नै नातागोतालाई दिलाए । एमालेबाट पनि दोस्रोपटक रंगेलीको मेयर भएपछि उनको रवाफ अझ बढ्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संरक्षण पाएपछि उनको गफ अझ बढ्दो छ । रंगेलीका केही सहरी क्षेत्रको फोटो भिडियोलाई देखाएर उनले सबैतिर विकास गरेको बताएका छन् । तर एमालेले विगतमा बढी भोट पाएको वडा नम्बर १ र २ लगायतका स्थानमा अझैपनि सडक, शिक्षा र खानेपानीको सुविधा पुगेको छैन । जहाँ पुग्यो त्यहाँ सबै काम गरिदिन्छु भन्छन् तर काम गर्दैनन् ।

रंगेलीका स्थानीय महेरलाल चौधरी आफ्नो छोरोको बिहेको दिनमा पुलिस लगाएर घर भत्काइदिएपनि घर अगाडिको बाटो भने नबनाइदिएको गुनासो गर्छन् । ‘छोरोको बिहेको जन्तीको अघिल्लो दिन पुलिस ल्याएर मेरो घरमा डोजर लगायो तर आजसम्म बाटो बनाएन’, उनले भने ।

रंगेली १ बबिया बिर्ताका अमरलाल थारु स्थानीय चुनावमा बाटोपनि बनाइदिन्छु, मन्दिरपनि बनाइदिन्छु भनेको तर अहिलेसम्म केही काम भएन । ‘भाका गरेर गएको थियो बाटो बनाइदिन्छु, मन्दिर बनाइदिन्छु भने । न बाटो न मन्दिर बनेको छ । भात खान बस्दा धुलो उडेर हैरान छ’, अमरलालले समाजप्रेससँग भने ।

पटक पटक चुनावमा उम्मेदवारले वाचा गरेर पनि नबनाएको रंगेली १ को मन्दिर ।

सोही स्थानका देव चौधरी नेताहरुले धेरै गफ दिएको तर आफूहरुलाई दिक्क लागेको बताउँछन् । ‘फेसबुकमा हेर्यो भने रंगेलीको विकास गरे भन्नुहुन्छ । हामीपनि रंगेली १ कै त हो । खै बाटो ? खै पिच ? खै मन्दिर ? खै विकास ? खाली गफ मात्रै दिएर भोट पचाउने ?’ उनले आक्रोश पोखे ।

एमालेको आन्तरिक राजनीतिमा आफूलाई अध्यक्ष ओलीको विश्वासपात्र बनाएका बगडिया चुनाव जित्न सबै तरिका प्रयोग गर्नसक्ने उम्मेदवारमा पर्छन् । विगतमा फरक फरक पार्टीबाट मेयर जित्दा उनले सबै रणनीति प्रयोग गरेका थिए । पार्टीभित्र आफूलाई ओलीको समर्थक बताउँछन्, बाहिर आफू बालेनजस्तै भएको घोषणा गर्छन् । यसबाट एमालेभित्रको ठूलो पंक्ति चिढिएको छ । केन्द्रीय नेताहरुलाई पाखा लगाएर सांसदको टिकट लिएपनि यसपटक भने जनताको प्रश्नले नै उनलाई दिक्क बनाएको छ । मोरङको एमाले राजनीतिका जानकारहरु बगडियाको विगत, विवादित पृष्ठभूमि र ओलीसँगको प्रेम यसपटक चुनावमा भारी पर्नसक्ने बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij