२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सरस्वती पूजा: अक्षरारम्भदेखि जीवन शिक्षासम्म

सरस्वती पूजा: अक्षरारम्भदेखि जीवन शिक्षासम्म

सरस्वती पूजा नेपालमा केवल धार्मिक अनुष्ठान मात्र होइन, ज्ञान, भाषा, संस्कार र चेतनाको सुरुआतसँग जोडिएको सामाजिक–सांस्कृतिक पर्व हो। यसै अवसरमा धेरै अभिभावकले आफ्ना कलिला बालबालिकालाई अक्षरारम्भ गराउने, कापी–कलम छुवाउने र सिकाइको यात्रामा पहिलो पाइला चाल्न प्रेरित गर्ने परम्परा निभाउँदै आएका छन्। यसले बालबालिकाको सिकाइ कसरी सुरु गर्ने भन्ने विषयलाई अझ अर्थपूर्ण बनाउँछ, जुन केवल विधिसँग होइन, बालमनोविज्ञान, भावनात्मक विकास र आधुनिक शिक्षण दृष्टिकोणसँग गहिरो रूपमा सम्बन्धित छ।

यस सन्दर्भमा अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकनले आफ्ना छोराको शिक्षकलाई लेखेको चर्चित पत्र सधैँ स्मरणीय छ। उक्त पत्रमा उनले आफ्ना छोरालाई जित मात्र होइन, हार स्वीकार्न पनि सिकाउन आग्रह गरेका छन्। किताबको ज्ञानसँगै जीवनको व्यवहारिक ज्ञान, इमानदारी, दया र आत्मसम्मान सिकाइदिन अनुरोध गरेका लिंकनले छोराको जिज्ञासा मर्न नदिनू र भीडभन्दा फरक सोच्न सक्ने साहस दिनू भनेका छन्। आज पनि यो पत्र बाल शिक्षाको दर्शनका रूपमा उत्तिकै सान्दर्भिक छ, किनकि यसले सिकाइलाई अंक, प्रतिस्पर्धा र पाठ्यक्रमभन्दा माथि राखेर मानवीय विकाससँग जोड्छ।

बालबालिकाको सिकाइ सुरु गर्दा बुझ्नुपर्ने पहिलो कुरा के हो भने बच्चा खाली कागज होइन। ऊ जन्मँदै जिज्ञासा, भावना र सिक्ने अद्भुत क्षमतासहित आएको हुन्छ। बालमनोविज्ञानले भन्छ– प्रारम्भिक उमेरमा बच्चाले निर्देशनभन्दा बढी अनुकरण गर्छ र उपदेशभन्दा बढी अनुभवबाट सिक्छ। त्यसैले ‘यसरी लेख, यसरी पढ’ भन्ने दबाबभन्दा ‘हेर, खेल, सोध’ भन्ने वातावरण बालबालिकाका लागि बढी प्रभावकारी हुन्छ। सरस्वती पूजाको दिन अक्षर लेखाउनुको सार पनि यही हो– ज्ञानलाई डरको विषय होइन, उत्सवका रूपमा प्रस्तुत गर्नु।

सिकाइको सुरुआतमा भाषा र अक्षरभन्दा पनि सुरक्षित र माया भरिएको वातावरण आवश्यक हुन्छ। बच्चाले आफूलाई स्वीकार गरिएको, सुन्ने कोही भएको र गल्ती गर्न पाउने अनुभूति गर्दा मात्र उसको मस्तिष्क सिकाइका लागि खुल्छ। आधुनिक न्युरो–साइकोलोजीका अनुसार डर, करकाप र तुलना आधारित शिक्षाले बालबालिकाको सृजनशीलता र स्मरणशक्ति कमजोर बनाउँछ। त्यसैले अभिभावक र शिक्षकले बच्चाको गति, रुचि र स्वभावलाई सम्मान गर्नु आवश्यक छ।

आजको युगमा सिकाइ कापी–कलम र पाठ्यपुस्तकमा मात्र सीमित छैन। कथा, चित्र, गीत, संवाद, खेल र दैनिक जीवनका गतिविधिमार्फत सिकाइलाई सहज र रमाइलो बनाउन सकिन्छ। अक्षर चिनाउने क्रममा अक्षरलाई वस्तु, आवाज र भावनासँग जोड्दा बच्चाको स्मरणशक्ति, भाषिक क्षमता र संवेगात्मक विकासमा सकारात्मक प्रभाव पर्छ।

यस प्रक्रियामा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। बच्चाको पहिलो शिक्षक अभिभावक नै हो। घरमै पुस्तकप्रतिको रुचि देखाउनु, प्रश्न सोध्दा झर्किनु होइन सँगै उत्तर खोज्नु, सानो प्रयासको पनि प्रशंसा गर्नु– यिनै व्यवहारले सिकाइप्रति सकारात्मक धारणा विकास हुन्छ। सरस्वती पूजाको दिन किताब छोएको फोटो खिच्नु मात्र पर्याप्त होइन, वर्षभरि ज्ञानप्रति सम्मान गर्ने संस्कार घरमै देखिनुपर्छ।

अन्ततः, बालबालिकाको सिकाइ कुनै दौड होइन, यो जीवनभर चल्ने यात्राको पहिलो पाइला हो। अब्राहम लिंकनले भनेझैँ, बच्चालाई सबैले ताली बजाउने बाटो मात्र होइन, कहिलेकाहीँ एक्लै उभिन सक्ने साहस पनि सिकाउनुपर्छ। सरस्वती पूजा यही सम्झना गराउने अवसर हो– ज्ञान देवीको पूजा भनेको अक्षर मात्र होइन, सोच्ने क्षमता, संवेदना, नैतिकता र मानवताको सम्मान हो। बालबालिकालाई सिकाउनु भनेको उनीहरूलाई केवल सफल होइन, सचेत, संवेदनशील र जिम्मेवार नागरिकका रूपमा भविष्यका लागि तयार पार्नु हो।

(लेखक समाजप्रेसकी ग्लोबल इडिटर एवं नेजाकी कोषाध्यक्ष हुन् । )

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij