२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

सरकार निजी क्षेत्रको मनोबल बढाउन निरन्तर प्रयन्नशील छ : अर्थमन्त्री खनाल

सरकार निजी क्षेत्रको मनोबल बढाउन निरन्तर प्रयन्नशील छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँग आज भएको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन्।

सरकारले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ सहुलियत र बिमामा सहजीकरणका कार्यक्रम सार्वजनिक गरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले सन्दर्भ मूल्य खारेज गरी भन्सारमा ‘अनलाइन डेटाबेस’ प्रणाली लागू गरिएपछि बजारमा पारदर्शी कारोबारले प्रश्रय पाउने बताए।

यही असोज ९ गते अर्थमन्त्री खनालले उद्घाटन गरेको उक्त प्रणालीले हरेक छ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

यस विधिमा जाँचपास भएका सबै वस्तुको मूल्य विवरण सङ्ग्रह गरिने जनाइएको छ। उक्त प्रणाली भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल स्रोत हो, जसले कारोबार मूल्य पहिचान गर्न सहयोग गर्छ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूले सरकारको उक्त कदमको प्रशंसा गरेका थिए। निजी क्षेत्रको मागबमोजिम जडित नयाँ ‘डेटाबेस’ प्रक्रियाको उपयोग गर्न तीनै संस्थाले सदस्य एवं उद्यमी व्यवसायीलाई आग्रह गरेका छन्।

त्यस अवसरमा उनीहरूले ‘जेनजी’ प्रदर्शनका क्रममा निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानमाथि भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नमाथि कारबाहीको माग गरे।

दोषीमाथि छानबिन भई कारबाही नहुने हो भने निजी क्षेत्र थप निरुत्साहित हुने हुँदा तत्काल कानुनी कारबाही गर्नुपर्ने उनहरूको माग थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij