२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

आन्दोलनको उपलब्धि : प्रथम महिला प्रधानमन्त्रीले लिइन् शपथ

आन्दोलनको उपलब्धि : प्रथम महिला प्रधानमन्त्रीले लिइन् शपथ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका छन्। राष्ट्रपति भवन शितल निवासमा शुक्रबार राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएकी हुन्।

राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको परामर्शमा उनलाई नियुक्ति गरेका हुन्।

राष्ट्रपति पौडेलबाट नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिसमा छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उनलाई नियुक्त गरिएको हो।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित थिए।

जेनजीले उठाएका मागका विषयमा सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।

जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको सञ्चालन सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शनी र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएको थियो।

उक्त घटनापछि तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो।

मुलुकमा अचानक बदलिएको राजनीतिक परिस्थिति र अन्यौलको वातावरणमा नेपाली सेनाको पहलमा क्रमशः कानुनी राज्य र अमनचयन कायम गर्दै वार्ता र संवादका माध्यमबाट नयाँ सरकार गठनमा सफलता मिलेको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij