टेक्सास । सेन्ट्रल टेक्सासमा पहिलो पटक दशैं टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। राजधनी क्रिकेट क्लबको आयोजनामा भदौ १४–१५ गते (अगस्ट ३०–३१, २०२५) फ्लोरेन्स क्रिकेट ग्राउन्डमा हुने प्रतियोगितामा अमेरिकी सेनामा कार्यरत नेपाली सेवा सदस्य तथा स्थानीय क्रिकेटप्रेमीहरू सहभागी हुनेछन्।
मात्र दुई महिना अघि १० खेलाडीबाट सुरु भएको राजधनी क्रिकेट क्लब अहिले ३० भन्दा बढी सदस्यमा विस्तार भएको छ।
नेपाली क्रिकेटका स्टार सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्कासहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटरहरुले प्रतियोगिताको सफलताको कामना गरेका छन् । उनीहरूले यसलाई प्रवासी नेपाली समुदायमा खेलमार्फत संस्कृति र पहिचान जोड्ने महत्वपूर्ण प्रयासका रूपमा सराहना गरेका छन्।
प्रतियोगितालाई स्थानीय व्यवसायीहरूले समेत सहयोग गरेका छन्। अल सिटी रियल्टर–राजाराम गौतम र हिमालयन ग्रिल एण्ड बार–नारायण पुरी/प्रदीप तिवारीले स्थल, उपकरण र प्रचारप्रसार खर्च व्यहोर्ने गरी योगदान गरेका छन् । प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र खसी पुरस्कार स्वरूप पाउनेछ। दशैंको प्रतीकका रूपमा खसीलाई मुख्य पुरस्कार राखिएको छ, जसले कार्यक्रमलाई अझ रमाइलो र सांस्कृतिक बनाउने आयोजकको विश्वास छ। कार्यक्रममा दर्शकलाई निःशुल्क खाना र पेय पदार्थ पनि उपलब्ध गराइनेछ।
फ्लोरेन्स क्रिकेट ग्राउन्डमा हुने प्रतियोगिता परिवारमैत्री, निःशुल्क प्रवेशसहित आयोजना गरिनेछ। आयोजकले यसलाई खेल, संस्कृतिको मात्र नभई समुदायिक एकताको प्रतीकका रूपमा उल्लेख गरेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij