२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

दशैँका लागि बजार झरे मुस्ताङका च्यांग्रा

दशैँका लागि बजार झरे मुस्ताङका च्यांग्रा

म्याग्दी- दसैँलाई मुस्ताङबाट च्यांग्रा बजार निकासी हुन थालेको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्यांग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन्।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मंगलबारसम्म एक हजार दुईसय भेडा च्यांग्रा निकासी भएको जानकारी दिए।

‘जोमसोमको नाकाबाट मंगलबार मात्रै चार सयवटा च्यांग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ’, उनले भने, ‘पछिल्लो तीन दिनको अवधिमा एक हजार दुई सय च्यांग्रा निकासी भएको छ।’

प्रतिगोटा च्यांग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ। स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ।

यस वर्ष दसैँका लागि मुस्ताङका कृषकले पालेका चार हजार र डोल्पाबाट आउने चार हजार गरी आठ हजार भेडाच्यांग्रा निकासी हुने अनुमान गरेको पोखरेलले बताए।

कृषकले प्रतिगोटा ३५ रुपैयाँ देखि ४० हजारको हाराहारीमा च्यांग्रा बिक्री गरेका उनले बताए। गत वर्ष छ हजार छ सय, २०७८ सालमा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ।

पछिल्लो चार वर्षयता चिनियाँ च्यांग्रा नआएको र मुस्ताङमा च्यांग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको कृषक करन गुरुङले बताए। तीनदेखि चार वर्ष उमेरका च्यांग्रा मासुका लागि बजार पठाउने गरिएको छ।

हिमाली भेगमा पालन गरिएका भेडाच्यांग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ। दसैँ–तिहारमा च्यांग्राको मासुको खपत बढी हुने गर्छ।

मुुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्यांग्रा पालिएका छन्। पैसठ्ठीवटा ठूला च्यांग्रा फार्म छन्। लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घर–घरमा च्यांग्रा पालेका छन्। हिमचुतुवा, ब्वाँसो र जंगली कुकुरले च्यांग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्यांग्राको २५ हजार रुपैयाँ थियो। कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्यांग्रा आयात नभएकाले मुस्ताङको च्यांग्राको मूल्य बढेको व्यापारी यामबहादुर कार्कीले बताए।

वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्यांग्राको आयात हुने गर्दथ्यो । मुस्ताङी च्यांग्राको हुल भित्रिएसँगै दसैँ आगमनको महसुस गराउँछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij