निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार यस अवधिमा ३२ हजार आठ सय ८० नेपाली तथा पाँच हजार आठ सय ५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत पाँच महिनाको अवधिमा १० करोड ६७ लाख एक हजार नौ सय राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
यसैबीच यस अवधिमा निकुञ्जले घडियाल प्रजनन केन्द्र कसरामा हुर्काएका ४१ घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छोडेको छ । पाँच वर्षमाथिका घडियाललाई विभिन्न तीनपटकमा गरी ४० पोथी र एक भाले राप्ती नदीमा लगेर छाडिएको अधिकृत थापामगरले जानकारी दिए । निकुञ्जले वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि विभिन्न समयमा स्थानीयसँगको सहकार्यमा बैठक बस्ने तथा कार्ययोजना बनाएर काम गर्ने गरेको उहाँले बताए ।
निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या धेरै देखिएको जनाउँदै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने तयारी गरिएको उनले जानकारी दिए । निकुञ्जको पश्चिम सेक्टर नवलपुर क्षेत्रमा गैँडाको सङ्ख्या धेरै पाइएकाले नारायणी नदीमा आउने बाढीले गैँडालाई बगाएर भारततर्फ लैजानसक्ने भएकाले गैँडा संरक्षणका लागि स्थानान्तरण आवश्यक भएको उनको भनाइ छ ।