चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजन भएका सबै माओवादीहरू एकताको प्रक्रियामा रहेको बताएका छन् ।
शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा पार्टी कार्यकर्ताहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले विभाजनको शृंखला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताएका हुन् ।
‘अब मिल्नुको विकल्प छैन, विभाजनको शृंखला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन्,’ उनले भने । देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक रहेको उनको भनाइ छ ।
‘हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ । अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठीकै हो भन्न थालेका छन्,’ उनले भने । अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाउने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रस्ट पार्न निर्देशन पनि दिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij