२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

उपप्राध्यापक चलाउनेलाई कुटपिटमा संलग्न सयुज श्रेष्ठ पक्राउ

उपप्राध्यापक चलाउनेलाई कुटपिटमा संलग्न सयुज श्रेष्ठ पक्राउ

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई मरनासन्न हुने गरी कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

चलाउनेलाई कुटपिट गरेको अभियोगमा मुद्दा चलाइएका सातजना प्रतिवादीहरुमध्ये एकजना षयषु भन्ने सयुज श्रेष्ठलाई प्रहरीले उनको रातोपुलस्थित घरनजिकैबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता कुमोद ढुंगेलले श्रेष्ठलाई पक्राउ गरिएको‍ पुष्टि गरे।

सयुजलाई साढे दुइ वर्षअघि पाटन उच्च अदालतले पाँच लाख धराैटी मागेको थियो। उक्त प्रकरणमा सयुजबाट चलाउनेलाई एक लाख अन्तरिम क्षतिपूर्ति जम्मा गर्ने आदेश पनि गरेको थियो।

अदालतको उक्त आदेशलाई अवज्ञा गरी बसेका उनी बिहीबार घरनजिकै राताेपुलबाट पक्राउ परेका हुन्।

चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा लम्बिरहँदा एकजना अभियुक्त समातिएका हुन्। सबै अंग पुगिसकेर फैसला चरणमा पुगिसकेको भनिएको मुद्दा यही मंगलबार फेरि प्रमाण बुझ्ने चरणमा फर्किएको थियो

हेर्दाहेर्दैमा राखी लगातार सुनुवाइ गर्न लागिएको मुद्दामा घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश काठमाडौं जिल्ला अदालतबाट मंगलबार भएको थियो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा सोमबार र मंगलबार भएको सुनुवाइपछि यो आदेश भएको थियो।

चलाउनेविरुद्ध ०७७ असोज २० गते नेविसंघका नेता कार्यकर्ताहरूले मरनासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए।

योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको छ।

कांग्रेससमेत सहभागी वर्तमान सरकारले मुद्दा फिर्ता लिने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकिदिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij