२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडानको चाप विस्तारै सामान्य बन्दै

सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडानको चाप विस्तारै सामान्य बन्दै

काठमाडौँ । बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप विस्तारै सामान्य बन्दै गएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि विकल्पका रुपमा रहेको हवाई उडानमा अत्यधिक चाप भएको थियो । पछिल्ला दिनमा विभिन्न नाका भएर काठमाडौँ भित्रिने र बाहिरिने सडक सञ्जाल पुनःसञ्चालनमा आउनथालेपछि हवाई उडान पनि सामान्य बन्दै गएको हो ।

मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हवाई उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । बाढी, पहिरोलगायत विपत्तिका घटनाले सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुको चाप बढेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप भएको थियो । उडान चाप र यात्रु बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड देखिन्थ्यो । अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ हवाई उडान भए ।

ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका थिए । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँचसय अहिले उडान सामान्य बन्दै गएपछि विस्तारै भीडभाड कम हुँदै गएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडान चाप र यात्रु सङ्ख्या बढे पनि केही दिनअघि जस्तो भीडभाड छैन । “उडान चाप र यात्रुको सङ्ख्या त उस्तै, छ, तर, अघिल्लो दिन जस्तो अत्यधिक चाप र भीडभाड छैन”, उनले भने ।

प्रवक्ता शेर्पाका अनुसार यही असोज १३, १४, १५ र १६ गते उडान चाप थियो । पछिल्लो तीन दिनमा उडान सङ्ख्या केही कम भएको छ । विमानस्थलको विवरणमा यही असोज १९ गते दुईतर्फी दुई सय ९९, असोज २० गते तीन सय १८ र २१ गते तीन सय छ उडान भएको छ । यो हेलिकप्टरबाहेकको उडान सङ्ख्या हो । अन्तर्राष्ट्रियतर्फ पनि उडान सामान्य अवस्थामै सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

उडान चाप कम भए पनि यात्रुले अझै पनि गन्तव्य पुग्न सहज रुपमा हवाई टिकट पाउन सकेका छैनन् । यात्रुको मागअनुसार केही एयरलाइन्सले विभिन्न गन्तव्यमा उडान सङ्ख्या थपेर सेवा दिइरहेका छन् । यात्रुले महँगो शुल्क तिरेर भए पनि हवाई यात्रामार्फत गाउँ गएका छन् ।

बडादसैँको सङ्घारमा त्यसै पनि उडान चाप र यात्रुको सङ्ख्या बढी हुने गरेकामा यो पटक बाढी पहिरोलगायत विपत्तिका घटनाले सडकमार्ग अवरुद्ध बनाएपछि हवाई उडान चाप बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij