२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो

मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो

 

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ ।

बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले जानकारी दिए ।

‘शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो,’ उनले भने, ‘हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ ।’

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । आसपासमा बस्ती नभएपनि बेनी–जोमसोम सडक बोक्सेखोला किनारमा पर्दछ ।

कोवाङमा रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा शसस्त्र प्रहरीको टोली पठाएको जानकारी दिए ।

‘ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेपनि सतर्कता अपनाउनुपर्ने छ,’ उनले भने, “बेनी–जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सेखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।’

खोलाको छेउछाउ चराउन लगिएका बस्तुभाउ र घाँसदाउरा गर्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन् ।

तस्बिरः देउबहादुर विश्वकर्मा(कुमार अनुरागी)

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij