२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

स्ववियु सभापतिको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

स्ववियु सभापतिको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ- सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापतिले आफ्नो परीक्षा अरुलाई नै दिन लगाएको पाइएको छ।

स्ववियु सभापति प्रेमराज दाहालको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले आइतबार बरहथवास्थित शुभ जनता बहुमुखी क्याम्पस परीक्षा केन्द्रबाट एकजना नक्कली परीक्षार्थीलाई पक्राउ परेपछि यो तथ्य उजागर भएको हो।

दाहालको नाममा परीक्षा दिइरहेको अवस्थामा सर्लाहीको हरिवन नगरपालिका १ घर भएका नक्कली परीक्षार्थी विष्णुकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

दाहालको नाममा आइतबार ‘रिसर्च मेथड इन सोसियोलोजी’ विषयको परीक्षा दिइरहेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी कैलाश राईले जानकारुी दिए।

दाहाल चतुर्भुजेश्वर क्याम्पसका स्नातक तहको मानविकी संकायका विद्यार्थी हुन्। गएको चैतमा भएको स्ववियु निर्वाचनमा उनी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिमा विजयी भएका थिए।

प्रहरीले आफ्नो परीक्षा अन्यलाई दिन लगाउने स्ववियु सभापति दाहाललाई भने पक्राउ गरेको छैन। उनी फरार छन्। ‘उनको खोजी भइरहेको छ,’ डीएसपी राईले भने, ‘घटनाको सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौँ।’

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले पनि घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए। इप्रका बरहथवाकै टोलीले नक्कली परीक्षार्थी श्रेष्ठलाई पक्राउ गरेको हो।

चतुर्भुजेश्वर क्याम्पसको स्नातक तहको परीक्षा बरहथवास्थित शुभ जनता बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij