२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मानव सेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिए ।

प्रधानमन्त्रीले विभिन्न कारण सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त गराउने अभियानमा सरकार साथमा रहेको र यसका लागि आवश्यक सहयोग रहनेछ भने । सो अवसरमा घरपरिवार र आफन्तविहीन भई खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवहरूको उचित संरक्षण र पालनपोषण गर्दै आइरहेको मानव सेवा आश्रमका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन पत्र समेत दिइएको थियो ।

भेटमा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत नीति तथा कार्यक्रममा २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ भन्ने सङ्कल्पलाई साकार पार्न मानव सेवा आश्रम सरकारको सहयोगी भई यस अभियानलाई सफल बनाउन प्रतिबद्ध रहेको बताए ।

यसैबीच, मानव सेवा आश्रमकी संरक्षक राधिका शाक्यले श्रावण सङ्क्रान्तिका अवसरमा मानव सेवा आश्रममा आश्रित आमाबुबाहरूका लागि हिजो साँझ विशेष भोजन सेवा प्रदान गरेका थिए ।

मानव सेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित २०६९ सालदेखि देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा अति कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवा दिँदै आएको छ ।

हाल देशभर सात प्रदेशको १९ जिल्लामा २४ वटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गर्दै आइरहेको छ ।

आजसम्म एक हजार सात सय बेसहारा सडक मानवको प्रत्यक्ष संरक्षण गर्दै आइरहेको यस आश्रमले १० हजारभन्दा बढीको उद्धार गर्नाका साथै चार हजारभन्दा बढीको सफल पारिवारिक पुनर्मिलन गराइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij