२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

केपी ओली चौथो पटक प्रधानमन्त्री नियुक्त

केपी ओली चौथो पटक प्रधानमन्त्री नियुक्त

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आइतबार अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसदको बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गरेका थिए ।

प्रधानमन्त्री ओलीको शपथ सोमबार विहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।  यो ओलीको चौथो कार्यकाल हो । यसअघि ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०७४ मा आमचुनावपछि प्रधानमन्त्री बनेका उनी २०७८ मा फेरि प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij